सूचनाको शक्ति - The Power Of Information

        

‘बोक्सी’काण्ड ‘मेलमिलाप’ गराउने मेयरलाई उन्मुक्ति ?


कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका नेता हुन् ।
घोडाघोडी नगरपालिका ५ देउकलीमा एक छात्रालाई बोक्सीको आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट भएको घटनामा भिडियो प्रमाणसहित पक्राउ परेका दोषीलाई सोही नगरपालिकाका मेयर चौधरीको रोहबरमा ‘मिलापत्र’ गरेर छुटाइएको थियो । तर, यो घटना मिडियामा आएपछि मात्र दोषीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जघन्य फौजदारी अपराधमा सप्रमाण समातिएका व्यक्तिलाई मिलापत्र गरी छुटाउने कार्यमा मेयर ममताप्रसादका साथै सोही वडाका वडाध्यक्ष प्रेम रोकायाको पनि संलग्नता रहेको स्थानीय प्रहरीको भनाइ छ । ‘बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई हामीले मेयरसा’बकै रोहबरमा रिहा गरेका हौं,’ सुख्खड प्रहरी कार्यालय स्रोतले भन्यो, ‘रिहा गर्ने कागजमा मेयरसाप र वडाध्यक्ष समेतको हस्ताक्षर छ ।’
प्रहरीले मिलापत्रमा हस्ताक्षर छ भने पनि मेयर चौधरीले आफू प्रहरी कार्यालयमा केहीबेर रमित हेरेर फर्किएको मिडियालाई प्रतिक्रिया दिएका छन् । तर, उनले यो घटना हेर्ने काम प्रहरीको हो भन्दै जघन्य अपराधको घटनाको निन्दामा एक शब्द पनि बोलेका छैनन् । उनी अहिलेसम्म पीडककै पक्षमा उदार देखिएका छन् ।

भिडियोमा हेर्नुस्

https://youtu.be/S95CUaXkA_I

मिलापत्र गराउने प्रहरीमाथि कारवाहीमा हुने
बोक्सीको आरोपमा समातिएका पीडक विरुद्ध जाहेरी लिन नमान्ने र मिलापत्र गराउने कार्यमा संलग्न प्रहरीमाथि कारवाही गरिने कैलालीका डीएसपी सागर बोहोराले बताएका छन् । नेपालको कानूनले स्थानीय तहका जनप्रतिनिधिलाई निलम्बनको कारवाही गर्ने स्पष्ट प्रावधान राखेको छैन । तर, यसको अर्थ, बलात्कार, हत्या, कुटपिट, बोक्सीकाण्ड आदि जघन्य अपराधमा मतियारको भूमिका खेल्ने जनप्रतिनिधिलाई कानूनभन्दा माथि रहने छुट रहनेछ भनेर कल्पना गर्न सकिँदैन । किनभने लोकतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुँदैन । मेयर चौधरी नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
एमालेको विधानको धारा ४९ मा कुनै नैतिक पतन देखिने फौजदारी अपराध गरेमा वा छुवाछुत वा जातीय भेदभाद वा लैंगिक हिंसाजन्य क्रियाकलाप गर्ने कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र निष्काशनसम्मको अनुशासनको कारवाही गरिने उल्लेख छ । यसैवीच बोक्सीको आरोपमा पुनः पक्राउ परेका स्थानीय कथित झाँक्री रामबहादुर चौधरीविरुद्ध पीडितका आफन्तले जाहेरी दर्ता गरेका छन् । तर, कुटपिटमा संलग्न पार्वती नाम गरेकी युवती र अर्का एक सहयोगी भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते बनेकी छात्राको धनगढी अस्पतालमा उपचार भइरहेको छ । –अनलाइन खबरबाट

आजको नयाँपत्रिका दैनिकमा प्रकाशित मेयर चौधरीको अन्तरवार्ता यस्तो छ :

मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?
– किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

जाहेरी कसले दिएको हो ?
– पीडित पक्षले ।

जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?
– हिजो नै भयो ।

कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?
– हो, म एकैछिन पुगेको थिएँ ।

कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?
– अहँ, किन लिनु र ?

होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?
– मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

त्यसोभए किन जानुभएको त चौकीमा ?
– बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?
– हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?
– हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?
– काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?
– हो, भर्खर ४० वर्षको भएँ ।

युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?
– त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?
– जानकारी भएन ।

आफ्नो नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?
– मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?
– त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँटोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?
– मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्न्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?
– तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू ?
– भन्नोस् ।

नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदोरहेछ ?
– त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ ?
– ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ०८:२३