सूचनाको शक्ति - The Power Of Information

        

देउवा सरकारले आज पूर्णता पाउला ?

सरकारले आज पूर्णता पाउने सम्भावना, ४ बजे मन्त्री शपथको तयारी

आज ११ बजे मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज (शुक्रबार) मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना बलियो देखिएको छ ।

बालुवाटारमा विहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो।

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्।

बिहीबारको सहमति बमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ। ‘मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो। शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ, ४ बजे शपथ गराउने गरी तयारी भएको छ,’ प्रधानमन्त्रीको देउवाका स्वकीय सचिव भानु देउवाले भने।

गठबन्धनमा मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै आएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति जुटेको छ। एकीकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ।

उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ। कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ।

गत असार २९ गते केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०७:२७