काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को विधान महाधिवेशनलाई तमासाको संज्ञा दिएका छन् । बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै अध्यक्ष नेपालले एमालेले कार्यकर्तामा भ्रम फैलाउन विधान महाधिवेशन गरेको बताए ।
भ्रममा परिरहेका कार्यकर्ताहरुलाई सत्यतथ्य बुझाउन आवश्यक रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाउँदै एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको दाबी गरे । एमाले पार्टी पतनको दिशामा पुगिसकेको नेपालको ठहर छ ।
‘नेकपा एमाले पतनको दिशामा गइसकेको छ,’ नेपालले भने, ‘अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ । अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकालेर एमाले छाड्नु भयो ।’
विधान महाधिवेशनबाट केहि सुधार हुन्छकी भनेर बसेका नेता जोशीले एमाले सुध्रीने सम्भावना नदेखेपछि एकिकृत समाजवादीमा सामेल भएको उनले बताए । ‘पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ,’ नेपालले भने ।
।