सूचनाको शक्ति - The Power Of Information

        

भाजपाको निमन्त्रणामा कांग्रेसको टोली बिहीबार भारत जाने

प्रकाशशरण महत, सहमहामन्त्री, नेपाली काँग्रेस

काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए ।

गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।

पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मितिसमेत तय हुने स्रोतले बतायो । भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १०:०९