सूचनाको शक्ति - The Power Of Information

        

सिम्तामा बाघ आतंक, दिउँसै बाख्रा खान थालेपछि स्थानीय त्रसित

सुर्खेत । जिल्लाको पूर्वी सुर्खेतमा पर्ने सिम्तामा बाघले आतंक मच्चाएको छ । बाघले सिम्ता गाउँपालिका–१ मा दिनदहाडै बाख्रा खान थालेको छ । चराउन वनजंगल लगेका बाख्राहरु बाघले मार्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।

वनमा चराउन लगेका बेला बाघले बाख्रा मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बाख्रा खान थालेको बाघ गाउँबस्ती प्रवेश गर्ने भन्दै स्थानीयहरु त्रसितसमेत बनेका छन् । ‘जंगलमा चराउन लिएका बाख्राहरु बाघले दिउँसै खाइदिन्छ,’ स्थानीय भीमबहादुर हमालले भने ।

उनका अनुसार पछिल्लो तीन महिनामा मात्रै घोरेटाका कृषकहरुका १२ ओटा खसी र बाख्रा बाघले खाएको छ । भदौ महिनामा आफ्ना दुई वटा बाख्रा बाघले खाइदिएको हमाले बताए । साथै बाघले सरिता राना, प्रकाश राना, कृपाल राना, मानराज शर्मा लगायतका कृषकहरुको वाख्रा र दशैँका लागि पालिएका खसी बाघले खाइदिएको छ ।

राम्री सामुदायिक वनमा चराउन लिएको बेला बाघले बाख्रा खाने गरेको स्थानीयहरु बताउँछन् । ‘विगतका वर्षमा बाघले यसरी क्षती गरेको थिएन्,’ स्थानीय हमालले भने, ‘यो वर्ष साउनदेखि बाघ आतंक बढ्दा पशु चौपाया जोगाउनै समस्या भएको छ । बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।’

बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खाइदिन थालेको स्थानीयहरु बताउँछन् । ‘अहिले त बस्तीमै बाघ आउने खतरा बढेको छ ।’ गाउँ नजिकैको डाँडा र खोल्सामा बाघ कराउन थालेपछि गाउँले त्रसित हुने गरेका छन् । बाघ बस्ती र नजिकै कराउन थालेपछि मान्छेलाई आक्रमण गर्छ की भन्ने त्रास बढेको छ ।

दाउरा र मेलापात जाँदासमेत समूहमा जानुपर्ने भएको छ भने बाघकै डरले बाख्रा लगायतका पशु चौपाया चराउन समूहमा लैजान थालेको पनि स्थानीयहरु बताउँछन् । वन क्षेत्र विगतको तुलनामा हराभरा भएपछि बाघसँगै अन्य जनावरको आवागमनसमेत बढेकोको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:५०