नेपालमा ५८ प्रतिशतले गरे असुरक्षित गर्भपतन, दुर्गम क्षेत्रमा अझै पुगेन चेतना
।
काठमाडौ । विश्वमा हरेक बर्ष ४७ हजार महिला असुरक्षित गर्भपतनका कारण मर्ने गरेको एक तथ्यांकले जनाएको छ । ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस’ का अवसरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा विश्वमा दुई करोड २० लाख महिलाले हरेक बर्ष असुरक्षित गर्भपतन गराएकामा ४७ हजारको मृत्यु हुने गरेको तथ्यांकले देखाएको हो । नेपालमा यसबर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या ९६ हजार भन्दाबढि भएपनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित गर्भपतन गराएको परिवार स्वास्थ्य महाशाखा टेकुले जनाएको छ । महाशाखाको तथ्यांकमा यसबर्ष २० बर्षभन्दा कम उमेरका १३ हजार ३२९ किशोरीले गर्भपतन गराएको उल्लेख छ ।
सरकारले निशुल्क गर्भपतनको सेवा उपलब्ध गराएपनि कतिपय दुर्गम क्षेत्रमा त्यसको जनचेतना पुग्न नसकेका कारण असुरक्षित गर्भपतन गर्नेको संख्या बढेको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा.नरेश प्रताप केसीले बताए । महिलाले सुरक्षित गर्भपतन सम्वन्धी कानुनी मान्यताका बारेमा जानकारी नहँदा पनि असुरक्षित गर्भपतन गराउन बाध्य भएको उनको भनाई थियो । गर्भपतन गराउन पाउने महिलाको मौलिक हक अन्र्तगत रहेकाले जो सुकैले असुरक्षित गर्भपतन नगराउन उनले आग्रह गरे । सुरक्षित गर्भपतन सेवाबारे जानकारी नहुँदा प्रत्येक १ घण्टामा २१ जनाले असुरक्षित गर्भपतन गराउँदा बर्षमा १ लाख ४६ हजार १४४ जनाले असुरक्षित गर्भपतन गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुरक्षित गर्भपतन गराउँदा बाँझो रहने या अन्य समस्या नआउने कार्यक्रममा बताइएको थियो । मातृ मृत्युदरमा १३ प्रतिशत असुरक्षित गर्भपतनका कारणले हुने गरेकोे छ । ‘सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन अधिकारलाई टेवा’ भन्ने मुल नाराका साथ मंगलबार राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाईएको हो । नेपालले गर्भपतन सम्वन्धी २०७४ साल असोज १० गते आजकै दिन कानुनी मान्यता पाएको अवसरमा यो दिवस मनाउँदै आएको छ । सरकारले सुरक्षित गर्भपतनका लागि बार्षिक आठ करोड बजेट छुटयाएको छ ।
।