सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाघको घेराबाट जोगिएकाको अनुभव : ‘आफू बाँचेको विश्वासै भएन’

बाँके । ‘बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन,’ बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेकी कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बाघको डरले घरबाट बाहिर निस्कन नसकेको बताइन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्ती नजिकैको जङ्गलमा भैँसी, बाख्रा चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए । ‘चारवटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतारहतार रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ,’ खड्कासँगै बाघको घेरामा परेका सेतु ओलीले भने ।

उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरे । बाघबाट जोगिन तीनवटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो । ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफूहरूलाई झम्टिन नसकेपछि बाख्रा र भँैसीलाई लखेट्दै तितरबितर पारेका थिए । बाघले रुखवरिपरि घेरा हालेर दाह्रा र नङ्ग्रा ठीक पारेको अवस्था निकै पीडादायी रहेको हीरा खड्काले बताए ।

खड्काले त्यो क्षण सम्झिए, ‘भैँसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौँ, एक्कासी भैँसी र बाख्रा दौडिन थाले । हेर्दा त चारवटा पाटेबाघ नजिकै आइसकेका थिए, ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौँ, बाघ हामीलाई घेरा हालेर भुइँमा बसे । अनि हाम्रो त सातोपुल्तो गइहाल्यो ।’ रुखमा चढेको बेला घरपरिवारको याद आएर बेस्सरी रोइकराइ मात्र गरेको अनुभव उनीहरूले सुनाए ।

अहिले पनि गाउँनजिकै आएर रातको समयमा बाघ कराउने गर्दा सम्पूर्ण गाउँ त्रासमा रहने गरेको स्थानीयवासीको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले गाभरका तीनै जनालाई निकुञ्जको हात्तीको टोलीले उद्धार गर्न सफल भएको बताए । उनले हात्ती नजिकै रहेकाले तत्काल उद्धार गर्न सकिएको जनाउँदै नत्र ठूलो दुर्घटना हुनसक्ने बताए ।

भदौ २७ गते बेलुका गाभरस्थित एकहोटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै तानेर बाघले खाएपछि स्थानीयवासीमा त्रास फैलिएको थियो । सो बाघ नियन्त्रणका लागि निकुञ्जले दुई हात्ती र सेना परिचालन गरेको थियो । बाघ नियन्त्रणमा लिन प्राविधिक टोलीलाई पनि सोक्षेत्रमा खटाइएकोछ । तर पनि बाघलाई नियन्त्रणमा लिन सकिएको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०७:३५