बाँके । बाँकेको जानकी गाउँपालिका–२ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुर्ब्यवहारको घटनामा प्रहरीले माफी मागेको छ ।
वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुर्ब्यवहारको प्रयास गरेको थियो । सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गलहत्याउने काम गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेबिच आज भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन् ।
वडाअध्यक्ष भने अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पत्रकारमाथि आक्रमण गर्ने भनि वडाअध्यक्ष गुप्ताले सुनियोजित योजना बनाएर बसेको बाँके प्रहरीले जनाएको छ ।
पत्रकार महासंघ बाँकेले आईतबार नै विज्ञप्ती जारी गरि पत्रकारलाई दुर्ब्यवहार गर्नेमाथि कारबाहीको माग गरिसकेकोछ । वडाअध्यक्ष गुप्ता अहिलेसम्म सम्पर्कमा नआएकाले महासंघमा गल्ती स्वीकार नगरे उनीमाथि कानूनी कारबाहीका लागि अगाडी बढ्ने महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए ।
।