सूचनाको शक्ति - The Power Of Information

        

नेपाली काँग्रेस बझाङको आठौ जिल्ला अधिवेशन स्थगित

बझाङ । बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछी नेतृत्व चयन स्थगित भएको छ ।

जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार राति १२ बजपेछि पार्टीको सम्पर्कमा नरहेको बझाङ कांग्रेसका नेताहरुले बताएका छन् ।

जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहले प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगित भएको स्रोतले बताएको छ । पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, पूर्व जिल्ला सभापति सत्यराज भण्डारी र संविधान सभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उमेदवार रहेका छन् ।

अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार रहेका छन् । भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन रहेको छ ।

तर चुनावी प्रतिस्पर्धामा आफूले समर्थन गरेको उमेदवारले हार्ने देखिएपछि नरेशबहादुर सिंह तथा पृथ्वी बहादुर सिंह समर्थनका नेता कार्यकर्ताले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारिएको अर्को पक्षको आरोप छ ।

तर त्यो आरोपमा कुनै सत्यता नभएको, उल्टै मतदान अधिकृत भट्टले भौतिक आक्रमणको धम्की आएको भन्दै गुनासो गरेको नेता नरेशबहादुर सिंहले बताउनुभयो ।

प्रमुख मतदान अधिकृत भट्टलाई पृथ्वी बहादुर सिंह तथा नरेशबहादुर सिंह पक्षबाट शुक्रबार तुरुन्त जिल्ला छोड्नुपर्ने अन्यथा हात खुट्टा भाँचेर सेती नदीमा बगाइ दिने धम्की आएकाले मतदान अधिकृतले जिल्ला छोड्नु परेको कांग्रेसको अर्को पक्षले आरोप लगाएको छ ।

तर आरोप निराधार भएको नेता नरेशबहादुर सिंहको दाबी छ । प्रमुख मतदान अधिकृत भट्टलाई भने सम्पर्क भएको छैन् । उनको मोबाइल स्विच अफ आइरहेको छ ।

जिल्ला अधिवेशनका लागि आएका प्रमुख मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङको जिल्ला स्तरको नेतृत्व चयन गर्न तथा मतदान गर्न सदरमुकाम आएका नेता कार्यकर्ताहरु घर फर्केका छन् ।

अधिवेशन कहिले हुने भन्ने अनिश्चित भएको छ । बझाङमा सुरेश मल्ल, सत्यराज भण्डारी, चन्द्रा जोशी रामचन्द्र पौडेल पक्षीय नेता हुन् । तर पौडेल पक्षका यी नेताले देउवा पक्षका नेता अर्जुनजंगबहादुर सिंहसँग एलायन्स गरेका थिए । अर्को पक्षमा रहेका नेता नरेशबहादुर सिंह विमलेन्द्र निधि निकट तथा पृथ्वी बहादुर सिंह आर्जु राणा देउवा निकट रहेको स्रोतले बताएको छ ।

मतदान अधिकृत चेतराज भट्ट हाल डडेलधुरा पुगेको खबर आएको र के कती कारणले मतदान गर्न नसकेका हुन ? को प्रति असन्तुष्ट भएर भागे ? कोको गए ? किन गए ? भन्ने कुरा आफुहरु कसैलाई थाहा नभएको नेपाली कांग्रेसका युवा नेता ज्ञान बहादुर बोहराले बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १०:३३