सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रहरी कार्यालय बझाङद्वारा ४ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

बझाङ । जिल्ला जिल्ला प्रहरी कार्यालय बझाङले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै जिल्लाका ४ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अन्य जिल्लाको प्रवेश दवार वित्थडचिर गाउँपालिकाको प्रहरी चौकी वित्थडचिर, अस्थाई प्रहरी पोष्ट बागथला, अस्थाई प्रहरी पोष्ट झोता र जिल्ला ट्राफिक प्रहरी चेक पोष्ट सिमखेत गरी ४ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौं । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन ।’

चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको समेत डिएसपी खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सबै यातायात व्यवसायीहरुलाई आफ्नो सवारी साधनमा भाडादर राख्न पनि भनेका छौं । सहायता कक्षमा पनि भाडादर राखेका छौं । कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौं ।’

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी र प्रहरी खटाईएको छ । दशैंका लागि भनेर भारतबाट रोजगारी गरेर फर्केका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ ।

ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने भएकाले सवारी दुर्घटना न्युनिकरण गर्नु अर्को उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका असई राजेन्द्र विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्षमताभन्दा बढी यात्रु राख्नु, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले सवारी दुर्घटना हुन्छन् । तिनै कुरालाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौं ।’

यात्रु सहायता कक्ष स्थापना गरिनुले सर्वसाधारण यात्रुलाई सजिलो हुने भएको छ । भारतबाट मजदुरी गरेर आएका नागरिक ठगिनबाट बच्ने जयपृथ्वी नगरपालिका – ६ का स्थानिय निरज बम्मले बताउनुभयो । जिल्लाका मुख्यमुख्य नाकामा यात्रु सहायता कक्षा स्थापनाले सर्वसाधारण नागरिकलाई सजिलो हुने समेत बम्मको भनाई छ ।

साथै जिल्ला प्रहरी कार्यालय बझाङले कहि कतै कसैबाट ठगिएमा र तोकिएको भन्दा बढी भाडा लिएमा निशुल्क नम्बर १०० मा फोन गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ०९:०४