सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नदी नियन्त्रणका लागि राप्ती छेउमा रोपिए ६६ हजार बिरुवा

फाइल तस्वीर

बाँके । राप्ती नदी वरिपरिका क्षेत्रमा बर्सेनि हुने कटान तथा डुबान रोक्न राप्तीसोनारी गाउँपालिका अन्तरगत पर्ने राप्ती नदी छेउछाउमा ६६ हजार बिरुवा रोपिएको छ । नदी नियन्त्रणका लागि निर्माण गरिएको पक्की तटबन्धमा उक्त बिरुवा रोपिएको हो ।

‘क्षमता अभिवृद्धि तथा आर्थिक विकासमार्फत उत्थानशील समुदाय निर्माण परियोजना’का संयोजक रामनिवास यादवका अनुसार पक्की तटबन्धमा प्रयोग भएका जाली लामो समयसम्म टिकाउ नहुने भएकाले तटबन्धको सुरक्षाका लागि १० मिटर तलसम्म जरा फैलिने ‘भेटिभर’ जातको बिरुवा रोपिएका हुन् ।

जालीजस्तै जरा फैलिने भएकाले सो बिरुवाले नदी कटान हुनबाट जोगाउने यादव बताउँछन् । खिया लागेर जालीले काम नगरेपछि यही बिरुवाले ढुङ्गा खस्नबाट जोगाउने उहाँको भनाइ छ । तटबन्ध सुरक्षाका लागि भेटिभर जातको बिरुवाका बीच–बीचमा बाँस, काँस र नेपियर जातका घाँस पनि रोपिएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ ।

नदी नियन्त्रणका लागि बाँके जिल्लामा पहिलोपटक भेटिभर जातको बिरुवा रोपिएको बताउँदै गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले यसले वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताए । उनका अनुसार बिरुवाले पर्यावरण संरक्षणमा मद्दत गर्नुका साथै बाँस र घाँस बिक्री गरेर स्थानीयले लाभ लिन सक्नेछन् भने बाख्रा र गाई, भैँसीका लागि जङ्गल जाने झन्झटबाट किसानले मुक्ति पाउनेछन् ।

बिरुवा लगाउन राप्तीसोनारी गाउँपालिकाले ४६ लाख र एडीए, एडब्लुओको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूहले सात लाख ३५ हजार रुपियाँ खर्च गरेका छन् । बिरुवा लगाउन स्थानीयले श्रमदान गरेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष जनकबहादुर थारूले बताए । उनले आफ्नो जमिनको सुरक्षा हुने र नेपियर जातको घाँस पशु चौपायाका लागि उपयोगी हुने भएपछि स्थानीयले स्वस्फूर्त श्रमदान गरेको बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ०९:४८