सूचनाको शक्ति - The Power Of Information

        

समाचार प्रभाव

जिल्ला तानिए जमुनाह प्रहरीका ‘पहुँचवाला इन्चार्ज’

अझ ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए दशैं कसरी मनाउनु ?’ भन्दै राँगा तस्करीमा समेत संलग्न रहेका सई खत्रीलाई आजै विहान १० बजे जिल्लामा हाजिर हुन भनिएको छ ।

बाँके । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) पुर्ण खत्री जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन् । भारतसँग खुला सीमा–नाका रहेको बाँकेमा तस्करसँग उठबस गरेर तस्करीको लाइन दिँदै आएका सई खत्रीलाई जिल्ला तानिएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘पहुँचवाला इन्चार्जलाई उन्मुक्ति, पहुँचबिहीन प्रहरी जवान र हवल्दार अन्यायमा’ र सीमामा तस्करलाई ‘लाइन’, ‘सीमामा तस्करी हुँदा नदेखेझैं, नेपालगन्जबाट बरामद’ लगायतका समाचार सत्यपाटीले प्रकाशन गरेपछि सई खत्री जिल्ला तानिएका हुन् । सई खत्रीले ‘लाइन’ दिएपछि जमुनाह नाकाबाट कुखुरा, अण्डा, हार्डवयर तथा विभिन्न मेसिनरी सामान, गाडीका पार्टहरु रासायनीक मल लगायत दैनिक लाखौंका सामानहरु नेपाल भित्रिन्थे ।

अझ ‘दशैंको बेला दुई/चार वटा राँगा नभित्र्याए दशैं कसरी मनाउनु ?’ भन्दै राँगा तस्करीमा समेत संलग्न रहेका सई खत्रीलाई आजै विहान १० बजे जिल्लामा हाजिर हुन भनिएको छ । सई खत्रीकै निर्देशनमा भारतबाट घर फर्कने नेपालीबाट पैसा असुलेपछि बुधबार मात्रै उनी मातहतका १७ जना प्रहरीलाई जिल्ला तानेपछि उनी थप विवादित बनेपछि जमुनाहबाट हटाइएको प्रहरी स्रोतले बतायो ।

यो पनि पढ्नुस् : 

पहुँचवाला इन्चार्जलाई उन्मुक्ति, पहुँचबिहीन प्रहरी जवान र हवल्दार अन्यायमा

तस्करलाई प्रहरीकै ‘लाइन’, ‘सीमाबाट अवैध सामान भित्रिँदा नदेखेझैं, नेपालगन्जबाट बरामद’

 

बाँकेका प्रहरी प्रमूख अधिकारीले सई खत्रीलाई त्यहाँबाट हटाएर केही दिनमै नयाँ इन्चार्ज खटाइने सत्यपाटीलाई बताए । उनले इलाका प्रहरी कार्यालय जमुनाहाका असईलाई कार्यालयको सबै काम कारबाही बुझबुझारथ गरी आजै विहान १० जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनु भनेर निर्देशन दिएको बताए । सई खत्रीले तस्करलाई ‘लाइन’ दिएपछि सीमा नाकामा तस्करीसमेत मौलाउँदै आएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यको संरक्षण र आडमा तस्करीलाई बढावा दिइरहेका सई खत्रीकै निर्देशनमा भारतबाट आउने नेपालीहरुलाई १०० रुपैयाँ नदिँदासम्म नेपाल भित्रिन नपाउने भन्दै रकम असुली हुँदै आएको थियो । सई खत्रीकै निर्देशनमा मातहतका प्रहरीहरुले चेकपोष्टमा नेपालीहरुबाट रकम उठाउँदै आएका थिए । डिआइजीको ‘भाग’ स्वरुप नै डिआइजी आचार्यले सई खत्रीलाई जमुनाहमा इन्चार्जको जिम्मेवारी दिएर खटाएका थिए ।

सई खत्रीसहित २५ जना रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका १७ जनामात्रै कारबाहीको दायरामा ल्याएर पहुँचवाला सईलाई उन्मुक्ति दिइएको भन्दै बाँकेका प्रहरी नेतृत्वको सबैतिरबाट चर्को आलोचना भइरहेको थियो । एक जना प्रहरी अधिकारीले भने, ‘प्रहरीमा चेन अफ कमाण्ड छ, कमाण्डरकै आदेश र निर्देशनमा सबै कुरा चल्ने हो । इन्चार्जलाई उन्मुक्ति दिएर तल्लो दर्जाका कर्मचारीमात्रै तानिनु गलत थियो ।’

१७ जनाले गल्ती गर्दा इन्चार्ज चोखो रहन नसक्ने भन्दै प्रहरीभित्रै चर्को आलोचना भइरहेको थियो । डिआइजी आचार्यका विश्वास पात्र मानिने सई खत्रीलाई जमुनाहमा इन्चार्जको जिम्मेवारी दिएर खटाइएकै कारण बाँके नेतृत्वले जिल्ला तान्न नसकेको पनि प्रहरीभित्र चर्चा चलेको थियो । भारतबाट घर फर्केका नेपालीहरुसँग पैसा लिने इन्चार्जलाई उन्मुक्ति दिएर १७ जना जवान तथा हवल्दारहरुले कारबाही भोग्नु न्यायपूर्ण नभएको प्रहरी वृत्तमै नेतृत्वको चर्को आलोचना भइरहेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ०८:३६