रुपेन्द्र ऐडी । कालीकोट । कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी नानी शाहीलाई घर खर्च चलाउनु परेमा श्रीमान्सँग पैसा छ कि भनेर माग्नुपर्ने अवस्था थियो । तर अहिले ठीक उल्टो भएको छ ।
श्रीमान्ले आवश्यक परेको बेलामा आफूसँग पैसा मागेर समस्या टार्न थालेको उहाँको भनाइ छ । उहाँले विगत सात वर्षअघि सहकारीको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर पहिलो पटक पाँच हजार रुपैयाँ कर्जा लिएर व्यवसाय शुरु गरेकी हुन् ।सामान्य चिया पसलबाट आरम्भ गरेको व्यवसाय अहिले बढ्दै गएको छ । नानी अहिले श्रीमान्सँग मिलेर जिल्ला अस्पतालमा होटल व्यवसाय गर्दै आएकी छन् ।
जिल्ला अस्पतालमा खाजाघर सञ्चालन गरेर मासिक २३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन्, उनले । जिल्ला अस्पतालभित्र र बाहिर सञ्चालन गरेको खाजाघरमा बिहानदेखि बेलुकासम्म उनलाई भ्याइनभ्याई छ । अहिले समूहका महिला सदस्यको विश्वासबाट तीन लाख रुपैयाँभन्दा बढी कर्जा लिएकी उनले मासिक रूपमा कर्जाको किस्ता तिर्छिन् । यसैको आम्दानीबाट घर खर्च मात्र होइन छोरीलाई अनमीसम्म पढाउन सफल पनि भएकी छन् ।
पहिले समाजमा पुरुषलाई मात्र कर्जा दिने साहुमहाजनभन्दा महिलालाई विश्वास गर्ने सहकारी तथा वित्तीय संस्थाका कारण आफूहरूलाई उद्यमी बन्ने अवसर मिलेको यहाँका महिलाहरू बताउँछन् । कतिपय महिलाले अन्य निकायबाट सीप सिकेर समूहबाट कर्जा लिई सफल उद्यमी बनेका छन् । नरहरिनाथ गाउँपालिका तीन निवासी शान्ति बुढा अहिले श्रीमान् जहले बुढाको सहयोगमा घरमा कुखुरापालन र खुद्रा पसल चलाउँछिन् । यसका अतिरिक्त उनी तरकारी खेती पनि गर्छिन् । खुद्रा पसलबाट व्यवसाय शुरु गरेकी बुढाले गाउँको साहुबाट वार्षिक ३६ प्रतिशतमा २० हजार कर्जा लिएकी थिइन् ।
त्यही सिलसिलामा कुमाल गाउँमा हिमचुली कृषि सहकारी संस्था लिमिटेडले माइक्रो फाइनान्स समूह गठनका लागि पठाएका कर्मचारीबाट संस्थाबाट पाउने सुविधाका बारेमा थाहा पाइन् । कर्जा पाउन र कमाएको रकम बचत गर्न सहज हुने देखेपछि गाउँका महिला जम्मा गरेर समूह गठन गर्दै पहिलो पटक ५० हजार रुपैयाँ कर्जा लिएर साहुको २० हजार फिर्ता गरिन् । त्यसैबाट कारोबारलाई बढाएर अहिले मासिक १२ हजारसम्म आम्दानी गरिरहेको बुढा बताउँछिन् । छोरीलाई काठमाडौँमा रेडियोलोजी पढाउँदै आएकी छन्, उनले । उनले भनिन्, ‘माइक्रो फाइनान्स समूह नभएको भए छोरीको पढाइका लागि थुप्रै ऋण लिनुपर्ने हुन्थ्यो । अहिले समूहबाट लिएको कर्जा मासिक रूपमा तिर्न सफल भएको छु ।’
अहिले माइक्रो फाइनान्स समूहबाट तीन लाख ६० हजार रुपैयाँ कर्जा लिएको उनी बताउँछिन् । आफूहरूलाई अहिले श्रीमान्सँग स–सानो कुनै पनि रकम माग्नु नपरेको बरु उल्टै आफूहरूले दिनुपरेको बुढाको भनाइ छ । रास्कोट नगरपालिका–५ निवासी मनपुरा तिरुवाको जीवनशैली अहिले परिवर्तन भएको छ । उनको खुद्रा पसल गर्ने चाहना भए पनि श्रीमान्को कमाइले सम्भव हुने नदेखेपछि एक वर्षसम्म सोचेको कुरा मनमा राखेर बसिन् । अन्ततः इच्छा मुताबिक उनले सहकारी संस्थाको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर कर्जा लिई व्यवसाय शुरु गरिन् । गाउँबाट बजारमा खुद्रा व्यवसाय शुरु गर्नुभएको मनपुराले घर खर्च व्यहोर्दै मासिक किस्ता पनि तिर्दै गएकी छन् ।
उनले भनिन्, ‘आफूलाई आवश्यक पर्ने गरगहना पनि जोडेको छु । समूह आफूहरूका लागि माइती जस्तै भएको छ ।’ स्थानीय जनप्रतिनिधि हुने अवसरसमेत पाएकी मनपुरा तिरुवा समाजको अगुवाको भूमिकासमेत निर्वाह गरिरहेकी छन् । चार वर्षअघि २३ जना महिलाको अगुवा भएकी मनपुरा सामाजिक काममा समेत सहभागिता जनाउँछिन् । जिल्लाका अधिकांश महिला अहिले आत्मनिर्भर हुने वातावरण बनेको यहाँका महिलाको भनाइ छ । कालीकोट जिल्लामा महिलामा आत्मविश्वास बढ्दै गएको र सहकारीका समूहमा बसेर नेतृत्व गर्न सक्षम हुने अवसरसमेत मिलेको माइक्रो फाइनान्स प्रबन्धक मनिका बोहरा बताउँछिन् । उनका अनुसार अहिले पनि महिलाले कर्जा लिए पनि पुरुष बिना व्यवसाय सञ्चालन असम्भव देख्नेका लागि यहाँका महिलाले उदाहरणीय काम गरेर देखाएका छन् ।
बोहराले भनिन्, ‘समाजमा हेलाँको दृष्टिले हेरिने एकल महिला पनि समूहमा आबद्ध भई व्यवसायी बन्न सफल भएकी छन् । उहाँहरूको व्यवसाय समाजका लागि उदाहरणीय बनेका छन् ।’ कुमालगाउँ निवासी रत्ना भण्डारा एकल महिला हुन् । उनले गाउँमा कुखुरापालन गरेर राम्रो कमाइ गरिरहेकी छन् । पहिले पहिले गाउँमा खुद्रा पसल शुरु गर्दा अर्कै नजरले हेर्नेहरू आफूले शुरु गरेको कुखुरापालन व्यवसाय र खुद्रा व्यापार देखेर छक्क पर्ने गरेको उनी बताउँछिन् । श्रीमान् हुने महिलाका लागि आफू उदाहरण बनेको र घर खर्चका लागि कुनै कठिनाइ नभएको उनको भनाइ छ । जिल्लामा माइक्रो फाइनान्स सञ्चालन गरेको हिमचुली सहकारीले अहिले ६ हजार ५०० महिलालाई नौ करोड कर्जा प्रवाह गरेर व्यावसायिक बनाएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताए ।
उनले भने, ‘पहिले पहिले कर्जा लिँदा कसरी तिर्ने होला भन्ने चिन्तामा पर्ने गरेको भए पनि अहिले भने महिलामा व्यवसायिक दक्षता बढ्न थालेको छ ।’ सात वर्षअघि शुरुआतको चरणमा पाँच हजार कर्जा प्रवाह गर्ने सहकारी संस्थाले अहिले व्यवसाय हेरेर तीन लाख सम्मको कर्जा प्रदान गर्दैआएको छ । महिलाले कमाएको रकम लघु बचत, लघु बिमा र लघु कर्जाका माध्यमबाट उनीहरूलाई नै आत्मनिर्भरतातर्फ उन्मुख गराउने काम मात्र नभई सहकारीले सामाजिक काममा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएको संस्थाका अध्यक्ष कालीबहादुर महताराले बताए । उनले भने, ‘महिलालाई व्यावसायिक मात्र हैन आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गराउन पनि सहकारी सफल भएको छ ।
कालीकोट जिल्लामा महिलालाई आगामी तीन वर्षसम्म १५ हजार महिलालाई समूहमा आबद्ध गराउने सहकारीले लक्ष्य छ । कालीकोट जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने दुई दर्जन सहकारी संस्थाका साथै एक दर्जन लघुवित्तको काम गर्ने वित्तीय संस्था छन् । चारभन्दा बढी वित्तीय संस्थामा बसेर बचत गर्ने महिला पनि छन् । महिलाका लागि अवसर र चुनौती दुवै थपिएको किसान माइक्रो फाइनान्समा काम गर्दै आभएका दीपक विष्ट बताउँछन् । नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मानशोभा बुढाले महिलामा चेतना अभिवृद्धि भएको र उनीहरूलाई हरेक क्षेत्रमा अवसर दिँदै अगाडि बढाउन जरुरी रहेको बताइन् । रासस
।