सूचनाको शक्ति - The Power Of Information

        

परराष्ट्रमन्त्रीको शपथविरुद्ध परेको रिटको पेसी आज

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज (बुधबार) पेसी तोकिएको छ ।

नियुक्तीको एक सातापछि मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन् ।

शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न(नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका भएका थिए ।

यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको शपथ ग्रहणमा प्रश्न उठेपछि अध्यादेशमार्फत शपथ ग्रहणको ढाँचा ल्याइएको थियो । तर, सो अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।

यता सरकारले शपथ ग्रहणसम्बन्धी कानून बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०८:२५