सूचनाको शक्ति - The Power Of Information

        

डाक्टर नहुँदा शव परीक्षण हुन सकेन

जाजरकोट । यहाँको बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ । स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो ।
फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो । दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले बताए ।
बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्यचौकी लिम्सामा करिब एक महिनादेखि डाक्टर नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ । दुईजना एमबिबिएस डाक्टरको दरबन्दी भएपनि हाल स्वास्थ्यचौकी डाक्टरविहीन हुँदा समस्या भएको ज्योतिले बताए । नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकीबाट डाक्टर लिएर परीक्षण गर्ने तयारी भएको ज्योतिको भनाइ छ ।
बुधबार बेलुका माछा मारेर फर्कने क्रममा जाजरकोटको बारेकोट गाउँपालिका–८ का ४३ वर्षीय गोमे बुढाको पनि मृत्यु भएको छ । माछा लिएर घर फर्कने क्रममा गोलखारास्थित बाटोबाट लडेर नलगाड नदीमा परेपछि बुढाको मृत्यु भएको हो । साँघुरो बाटो भएकाले बुढाको लडेर मृत्यु भएको सक्लाका लोकेन्द्र गौतमले जानकारी दिए ।
यता, एक हप्तादेखि जिल्ला अस्पताल जाजरकोटमा विद्युत् नहुँदा समस्या भएको छ । अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित विद्युतको लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०४:५९