सूचनाको शक्ति - The Power Of Information

        

समाचार

दशैँ खर्च पाएपछि छमछमी नाच्यो राउटे टोली

बाँके । दशैँ खर्चको जोहो गर्न राउटेको मुखिया टोलीलाई बाँकेको कोहलपुर नगरपालिकाले सहयोग दिएपछि उनीहरू खुसी भएका छन् । कोहलपुर पुगेका राउटे मुखिया भद्रबहादुर शाहीले कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतसँग भेट गररे दशैँ खर्च सहयोग गर्न आग्रह गरेका थिए ।

मेयर रावतसँग भेटका क्रममा राउटे समुदायका मुखियाको टोलीले राउटेहरूको समस्या सुनाउँदै यस पटकको दशैँ मनाउन पैसा नभएर समस्या परेकाले सहयोग गर्न आग्रह गरेका थिए । मुखिया शाहीले राउटेको गाँस, बास र कपासका लागि सरकारले आवश्यक र स्थायी व्यवस्था नगरेकाले हरेक वर्ष चाडपर्वमा समस्या हुने गरेको गुनासो गरे ।

दशैँ खर्च जोहो गर्नकै लागि कोहलपुर आएका राउटे मुखियाको टोलीलाई मेयर रावतले दशैँ खर्चस्वरूप खसी खरिदका लागि नगद १० हजार रुपैयाँ उपलब्ध गराएको कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले जानकारी दिए ।

सहयोग रकम पाएपछि राउटेहरूको टोली खुसीले छमछमी नाचेको पनि परियारले बताए । सो क्रममा मेयर रावतसँग राउटे मुखिया भद्रबहादुर शाहीको टोलीले तस्बिरसमेत खिचाएका थिए । घुमन्ते जीवन बिताउने राउटे समुदाय नेपालको लोपोन्मुख जातिअन्तर्गत पर्छ । उनीहरूको बसोबास दैलेख जिल्लामा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार ०९:१८