सूचनाको शक्ति - The Power Of Information

        

राजनीति :

एमालेको केन्द्रीय कमिटी बैठक : तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० समूह निर्माण

प्रतिवेदनमाथि विभिन्न समूहहरूले शनिबार १ बजेसम्म अध्ययन गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनको मस्यौदामाथि माथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो ।

बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधनसम्बन्धी प्रतिवेदनसहित सुझाबहरू केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको बताए ।

उनले  प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरूलगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको बताए ।

भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहहरूले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा आफ्ना सुझाब राख्ने बताए ।

 भट्टराईले शनिबार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा समूहगत नेताहरूले आफ्नो सुझाब दिएपछि प्रतिवेदन दस्ताबेजहरूलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने बताए ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदै छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १८:२०