सूचनाको शक्ति - The Power Of Information

        

हुलास स्टीलसहित ६ उद्योग खारेज हुँदै


काठमाडौं । भैरवास्थित विशेष आर्थिक क्षेत्र(सेज)बाट ६ उद्योग खारेज हुने भएको छ । उद्योग सञ्चालन गर्नका लागि सम्झौता भइसके पनि सम्पर्कमा नआएपछि चेतनशील मल्टिपर्पोज एग्रो, अरुनखोला बहुउद्देश्य उद्योग, हुलास स्टील इण्डष्ट्रिज, श्यामकुमार लोहियारबरुण लोहिया, हिमालयन एग्री–बिजनेश र इन्स्ट्यान्ट नुडल्स एण्ड एलाइड इण्डष्ट्रि खारेज हुने भएको हो ।
पहिलेनै १९ उद्योग तथा लगानीकर्ताले सरकारसँग उक्त भैरवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सञ्चालनको लागि अनुमति पत्र लिन भन्दै ती १९ उद्योगलाई विशेष आर्थिक क्षेत्र प्राधिकरणले समय तोक्दै आएको थियो । अनुमति पत्र लिनका लागि माघ १० गतेदेखि १५ दिने दुई पटक सम्म म्याद दिइसकको प्राधिरणले गएको बुधबार मात्रै सात दिने अन्तिम अवसर दिएको थियो । सो अबसर पनि गुज्रिसक्दा पनि ६ उद्योग सम्पर्कमा आएनन् ।
प्राधिकरणका प्रवक्ता सुन्दर थापाले बुधबारसम्म पनि सम्पर्कमा नआएकोले सम्पर्कहीन उद्योगहरुलाई खारेजी गर्ने प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार गएको हप्तासम्ममा ९ ओटा उद्योगले अनुमति पत्र लिएका थिए । ‘बुधबारसम्म आइपुग्दा बाँकी ४ वटा थपिए,’ उनले भने ‘प्राधिकरणले पटक–पटक सम्पर्क नभएका उद्योगहरुलाई अनुमति पत्र लिनका लागि ताकेता गरेको थियो ।’
गएको बुधबार खारेज गर्न लागिएका उद्योगलाई किन खारेज नगर्ने यदि खारेज नगर्नु पर्ने उचित कारण भए कारणसहित ७ दिन भित्रमा कार्यालयमा सम्पर्क म्याद दिएको थियो । साथै अनुमतिपत्र प्राप्त गर्न अनुरोध समेत गरेको थियो । अन्यथा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका उद्योगी/लगानीकर्ताहरुसँग भएको समझदारीपत्र स्वतः खारेज भइ जाने प्राधिकरणको निर्णय थियो । सोही अनुसार पनि सम्पर्कमा नआएका उद्योगहरु खारेजी भएको हो ।
उक्त भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजको २०७१ सालमै उद्घाटन गरिएको हो । प्राधिकरणको अनुसार सेजमा उद्योग सञ्चालनको लागि आईडीएस इलेक्ट्रिक प्रालि, सुगम नानो हर्बल इन्डष्ट्रिज, किरण सुज म्यानुफ्क्चर, जगदम्बा सिन्थेटीक्स प्रालि, ट्रान्स हिमालयन बेभरेज, सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ पेट प्लाष्ट (पीभीसी म्याट), एक्सन पोलिमोर, सरोज श्रेष्ठ गार्मेण्टले अनुमति पत्र लिइसकेको छ ।
त्यस्तै गएको हप्ताभित्र मात्रै महेन्द्रकुमार गोयल, इन्टरटेक पाइप्स एण्ड फीटीङ, एशियन थाइ फुड्स, मिनरल वाटर इण्डष्ट्रिजले पनि अनुमति पत्र लिएका हुन् । उद्योगहरुको खारेजीसँगै नयाँ उद्योगका लागि पुनः प्रस्ताव आह्वान गर्ने तयारी अगाडी बढ्ने भएको छ । ‘एक डेढ हप्ताभित्र नयाँ उद्योगको प्रस्तावनाको लागि ३० दिने सूचना निकाल्ने छौं,’ प्रवत्ता थापाले भने ।
प्राधिकरणको अनुसार सेजभित्र सवै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुनेछ । २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सञ्चालनको लागि अनुमति पाएको १ वर्ष्भित्र उद्योगले व्यापारिक उत्पादन गर्नुपर्ने प्रावधान छ । त्यस्तै सेजमा सञ्चालन हुने उद्योगहरुले ७५ प्रतिशत उत्पादन निर्यात गर्नै पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०४:१३