बाँके। नेपालगञ्जमा एक लाख बढी पुरस्कार रहेको फुटबल प्रतियोगिता हुने भएको छ ।
रोयल नेपालगञ्ज फुटबल क्लवले असोज १५ गतेदेखि नेपालगञ्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता गर्न थालेको हो ।
बाँके जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता गर्न थालेको रोयलका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।
प्रतियोगिताका लागि असोज ११ गतेसम्म टीम दर्ताको समय तोकिएको छ । बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारमध्ये कुनै एकमा दर्ता भएका क्लवले प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लवको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ । प्रतियोगिताको विजेताले एक लाख एघार हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र राखिएको छ । बाँकेमा फुटबल संघमा एघार वटा क्लव आवद्ध छन् ।
त्यसबाहेक राखेप, जिल्ला प्रशासन कार्यालय वा स्थानीय सरकारमा दर्ता भएका गरी डेढ दर्जनबढी क्लवले प्रतियोगितामा भाग लिने क्लवका महासचिव दीर्घराज आचार्यले जानकारी दिए ।
।