सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम र सचिवमा झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाँक्रीलाई चयन गर्ने भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले भुसाललाई महासचिव चयन गर्ने सहमति भएको हो ।

एकीकृत समाजवादीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । आज बस्ने बैठकले केन्द्रीय कमिटि घोषणा गर्ने तयारी गरेको छ । पहिलो केन्द्रीय कमिटीको जारी बैठकमा स्थायी कमिटीले तय गरेको प्रस्ताव पेस हुने प्रचार विभाग प्रमुख जगन्नााथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार नेकपा एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७/७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एक झाँक्री पनि हुनेछिन् । महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वालालगायतका नेताहरूले दाबी गरेका थिए ।

भुसाल एमालेमा रहँदा माधव नेपाल निकट भएर काम गरेका थिए । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रियसभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १२:०९