बाँके । दायित्व संस्थाले प्रदेश नं. ५ मा युवाआज ! देशभरी युवा रोजगारी नामक अभियान शुरु गरेको छ । परिवर्तनको सिद्धान्तमा आधारित यस अभियानले युवाको नवीनता तथा नेतृत्वको क्षमतालाई बढाउँदै युवा रोजगारीको नीतिगत र व्यवहारिक कठिनाइहरूलाई सकारात्मक ढङ्गले समाधान गर्न सक्ने दावी गरिएको छ ।
यस अभियान अन्तरगत संस्थाले स्थानीय तहमा पाल्पा, प्रादेशिक तहमा बुटवल र संघीय तहमा काठमाडौंका विभिन्न सरोकारवालाहरुसँग समूहगत छलफल गरिरहेको छ । छलफलमार्फत आएका विभिन्न मुद्दा, समस्या, चुनौती आदीको पहिचान गरी सम्बन्धित जिल्लाहरुमा विभिन्न चरणमा नवीनतम् सोँच, सीप र क्षमता भएका तथा आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने युवाहरु मध्येबाट १०–१० युवाहरुको छनौट गरिने जनाइएको छ ।
यसरी प्रतिस्पर्धाबाट छनौट भएका युवाहरुसँग १०० दिनको अभियान सञ्चालन गरी त्यस स्थानको स्थानीय सरकार, जनप्रतिनिधि, सांसद र सम्बन्धीत अन्य सकोकारवालाहरुसँग नीति तथा व्यवहार परिवर्तनका लागि पैरवी गर्नेछन् । जसले अभियानको लक्ष्य पैरवीद्वारा युवाहरुलाई स्थानीय स्तरमा रोजगारका विभिन्न अवसरहरु प्राप्त गर्न मद्दत पुग्ने संस्थाकी सञ्जु पौडेलको दावी छ । अभियानको विभिन्न चरणहरुमध्ये प्यानल डिस्कसन कार्यक्रम सोमबार पाल्पा र मंगलबार बुटवलमा सम्पन्न भइसकेको छ ।
तानसेन नगरपालिका, प्रमुख तथा पाल्पामा भएको कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि अशोककुमार शाहले देशमा बेरोजगार युवाको ठूलो चुनौती रहेको भन्दै बेरोजगार युवालाई रोजगार बनाउन स्थानीय तह प्रतिवद्ध रहेको बताउँदै नीति निर्माणसँगै कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यस्तै मंगलबार बुटवलमा भएको कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश प्रमूख तथा कार्यक्रमको प्रमुख अतिथि उमाकान्त झाले आफूसँग भएको स्रोत, साधन र युवा जनशक्तिलाई देश विकासको लागि सदुपयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी, तानसेन र बुटवलमा सम्पन्न कार्यक्रम रोजगारदाता, रोजगार समर्थन सेवा र भावी कामदारबीच रहेको सूचना अन्तरलाई कसरी कम गर्ने, कसरी नवीनतम् सोच भएका उद्यमीहरुलाई रोजगारी सृजनामा सहयोग गर्ने, रोजगारदाताले कर्मचारीको प्रोत्साहन गरेर आफ्नो व्यवसाय वृद्धि गर्ने लगागतका विभिन्न मुद्दाहरुमा केन्द्रित रहेको थियो । साथै कार्यक्रममा ग्रामीण क्षेत्रमा काम गर्ने मानिसको अभाव र शहरी क्षेत्रमा काम खोज्ने मानिसको संख्या बढी भएको अवस्थामा यसलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।
तानसेन र बुटवलको कार्यक्रममा विद्यार्थी, पत्रकार, युवा, व्यवसायी, सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाहरु आदि गरी करिब ११० जनाको सहभागीता रहेको थियो । यस अभियानलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डीएफआइडी र आइएलओले आर्थिक सहयोग गरेको छ । साथै, सोही प्रकृतिको कार्यक्रम आगामी हप्ता काठमाडौंमा पनि सञ्चालन हुने दायित्वले जनाएको छ ।
।