सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

दिउँसाे १ बजे बस्ने आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ ।

दलहरुबीच सहमति भएमा सम्भवत : आजै  विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ ।

सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन्  । राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्तावसमेत राख्ने सुविधा हुन्छ । सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुनेछ ।

त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउनेछ ।

त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ । हिजोको प्रतिनिधि सभा बैठकमा एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक पर्सि बोलाइएको छ । अबको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पनि पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १०:०९