सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पत्नी, भाइ र बुहारी गुमाएका गुरिलाल भन्छन्, ‘एकै चिहान होलान् भन्ने सोचेको थिइनँ’

बर्दिया । तीनतिर जंगल अनि अर्कोतिर नदीले घेरिएको सानो गाउँ । सानो बस्तीका प्रायजसो सबैको पेशा खेतिपाती । गुरिलाल पनि किसान नै हुन्, जसले परिवारका ३ सदस्य एकै दिन गुमाएका छन् । मृतक तीन जनाको शव आइतबार दिउँसोसम्म पनि उठाइएको थिएन । गाउँका सबै मान्छे उनको घरमा जम्मा भएका थिए ।

पत्नी, भाइ र बुहारी एकैसाथ गुमाएका गुरिलालको अनुहार दुःख र पीडाले भरिएको थियो । उनी शोकमग्न थिए । धान खेतमा राखेको विद्युतीय पासोबाट करेन्ट लाग्दा शुक्रबार राति गुरिलालका भाइ ३२ वर्षीय बालकृष्ण थारू, भाइबुहारी २९ वर्षीया सुनिता र पत्नी ४३ वर्षीया बेलमतीको मृत्यु भएको थियो । उनीहरू तीनै जना खेतमा पानी हेर्न गएका थिए ।

विद्युतीय पासो भने उनकै छिमेकीले बँदेलका लागि थापेका थिए । धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा गुरिलालका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क) पक्राउ पनि परे । यो घटनाले सिंगो गाउँ नै शोकमग्न भएको छ । जंगलको बीचमा रहेको गाउँ, जहाँ स्थानीयले हरेक रात जंगली जनावरको त्रासमा काट्नुपर्छ ।

त्यसमाथि आफूले लगाएको अन्नबाली बँदेल, चित्तल, हात्तीलगायत जनावरले सखाप पारिदिँदा गाउँले हैरान पनि छन् । तिनै बँदेललाई थापेको पासोमा पर्यो गुरिलालको परिवार । उनी अहिले होस् गुमाएको अवस्थामा छन् । पत्नी, भाइ र बुहारी त उनले गुमाए नै अब बाँकी जिन्दगीको चिन्ता थपिएको छ उनलाई ।

यस्तो थियो घटना

असोज १ गते शुक्रबार रातको ९ बजेको थियो । बर्दियामा त्यस दिन निकै गर्मी थियो । गुरिलाल र उनकी पत्नी सँगै थिए । त्यत्तिकैमा झण्डै साढे ९ बजेतिर गुरिलालकी पत्नी शौचालय जान निस्किइन् । शौचालय गएकी पत्नी धेरै बेरसम्म पनि नफर्किएपछि गुरिलालको मनमा चिसो पस्छ ।

उनी नडराउन पनि किन जहाँ राति जंगली जनावरको त्रास यसै पनि हुन्छ । ‘केहीछिनको पर्खाइपछि श्रीमती नफर्किंदा अँधेरोमै खोज्न निस्किएँ,’ गुरिलालले भने, ‘शौचालयसम्मै पुग्दा पनि भेटिनँ ।’ पत्नीलाई नदेखेपछि डराएका गुरिलाल अझै आत्तिन्छन् । अलि पर खेतसम्म नजर डुलाउँछन् । झण्डै २०० मिटर पर टर्च बलिरहेको दृश्य उनको आँखामा पर्छ ।

उनमा त्यहाँसम्म पुग्ने आँट आउँदैन, तर पनि डराउँदै डराउँदै उनी त्यतैतिर लाग्छन् । त्यहाँ उनले राजबहादुर शाहीलाई देख्छन्, उनले नजिकै आफ्नी पत्नी पनि लडिरहेको देख्छन् । राजबहादुरले हतोत्साहित हुँदै आफूले बँदेलका लागि थापेको पासोमा परेर तीन जनाले ज्यान गुमाएको सुनाउँछन् । गुरिलाल आत्तिँदै पत्नीलाई झकझक्याउँछन् ।

त्यसबेलासम्म उनकी पत्नीको प्राणपखेरु उडिसकेको हुन्छ । ‘कतै अलिकति सास बाँकी छ कि भन्दै उनलाई झकझक्याउन खोजें,’ गुरिलालले आँसु पुछ्दै भने, ‘शरीर तातै थियो, कतै सास बचेको छ कि भन्ने आस लाग्यो, मलाई के थाहा उनले प्राण त्यागिसकिन भनेर ।’ पत्नी जिउँदो छैनन् भन्ने पत्याउन उनलाई कठिन भयो । खेतबाट पिठ्यूँमा बोकेर उनले पत्नीलाई आफ्नो आँगनसम्म पुर्याए ।

पछिपछि शाही पनि आए । त्यसपछि खैलाबैला मच्चिन्छ । प्रहरीलाई खबर हुन्छ, प्रहरी पुग्छ । पत्नीलाई त खेतमा गुरिलालले मृत भेट्टाउँछन् । छेवैको घरका भाइबुहारी पनि घरमा नभएको थाहा पाएपछि घटनाले व्यापक रुप लिन्छ । भाइबुहारी किन फर्किएनन् भन्दै प्रहरी सहितको टोली खोज्न निस्किन्छन् । घरभन्दा अलि पर कुलामा झण्डै १५० मिटर तल २ वटा शव भेटिन्छन् ।

ती शव अरु कसैका नभएर गुरिलालको भाइबुहारीका थिए । शोकमग्न अवस्थामा रहेका गुरिलालले भने, ‘श्रीमती, भाइ र बुहारीको एकै चिहान होला भनेर कहिल्यै सोचिनँ ।’ यो घटनाले गुरिलालको जीवनमा अन्धकारमय भएको छ । जिन्दगीका सबै सपना टुटेका छन् । घटनाले जीवनमा नयाँ मोडमा पुर्याएको उनी सुनाउँन् ।

बालबच्चाको बिचल्ली

बँदेललाई थापेको पासोमा एकै परिवारका तीन जनाको ज्यान जाँदा गाउँ नै शोकमग्न छ । गुरिलालका ६ भाइको घर एकै ठाउँमा छ । उनका साइँला भाइ बालकृष्ण र बुहारी सुनिताका एक छोरा र एक छोरी छन् । बाबुआमाको मृत्युपछि ११ वर्षकी छोरी र ७ वर्षका छोराको बिचल्ली भएको छ ।

उनीहरुको पालनपोषणको जिम्मेवारी अब गुरिलालकै काँधमा आइपरेको छ । उनले बालबच्चाको पालनपोषणको जिम्मा पीडकले लिनुपर्ने माग राखेका छन् । यस क्षेत्रमा विद्युतीय धरापमा जनावर पार्ने घटना यसअघि भए पनि मानिस नै धरापमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको यो पहिलो घटना हो ।

यसअघि विद्युतीय धरापमा पर्दा एउटा जंगली हात्ती मरेको थियो । निकुञ्ज र डिभिजन वन तथा सामुदायिक वनबाट जंगली जनावर गाउँ पसी बालीनाली तथा पशु चौपायाको समेत क्षति गर्ने गरेकाले स्थानीयले बदलाको भावनाले पासो थाप्ने गरेका छन् । जसले मानव र वन्यजन्तुबीच द्वन्द्वसमेत बढ्दो छ । बर्दिया राष्ट्रिय निकुञ्जले भने यस्ता घटना नियन्त्रणका लागि बेलाबेलामा गस्ती गर्ने गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ०६:२०