सूचनाको शक्ति - The Power Of Information

        

समाचार

छोराको आशमा बाह्र छोरी

प्युठान । प्युठान नौबहिनी गाउँपालिका–७, बाँसकोटकी पुना सापकोटाले छोराको आशमा १२ छोरीलाई जन्म दिएकी छन् । रोल्पाको सिर्प गाउँ माइती भएकी पुना अहिले ५७ वर्ष र उनको श्रीमान् सुमन्त ५८ वर्षको भए ।

उनीहरूको ४४ वर्षअघि भागी विवाह भएको थियो । सापकोटाको जोडीलाई विवाहपछिको पहिलो सन्तान छोरा जन्मियोस् भन्ने चाहाना थियो तर अहिलेसम्म आइपुग्दा १२ वटा सबै सन्तान छोरी छन् । पुना सापकोटाले भनिन्, ‘बिहेको दोस्रो वर्ष नबित्दै पहिलो बच्चाका रूपमा छोरी जन्मियो, त्यसपछि पनि सबै छोरी नै जन्मिए ।’

दोस्रो सन्तान छोरा जन्मिने आश घरमा ठूलो थियो तर दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि मनमा त्यति खुसी छाएन । गाउँघरकाले पनि छोरा नजन्माएको भन्दै कुरा सुनाउन थाले । उनले भने, ‘त्यसैले छोराको आशै आशमा १२ छोरी पाइरहेँ ।’ हिन्दु संस्कारमा छोरी हुँदा वंश कायम रहँदैन भन्ने डरले पनि छोराको आशमा आफूले १२ वटा सन्तान जन्माएको पुनाका श्रीमान् सुमन्त सापकोटाले बताए ।

उनका अनुसार १२ छोरीमध्ये आठवटा छोरीले विवाह गरिसके। चारवटी छोरी स्कुल पढ्दै छन् । अहिले भने पुना र सुमन्त छोरी भएकोमा खुसी छन् । पहिले छोरी भएकोमा हेला गर्नेलाई पनि सापकोटाका छोरीको पौरख देखेर जवाफ मिलेको छ । हरेक हिसाबले छोरीबाट छोरासरह साथ पाइरहेको सापकोटाले बताए । दम्पतीले भने, ‘छोरीहरू ईश्वरका वरदान सावित भएका छन्, धेरै खुसी छौँ ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतवार १८:०१