सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि तीन दिनसम्म ‘संविधान दिवस’ मनाइँदै

काठमाडौं । शनिवार आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ ।

नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सिसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन भएको थियो ।

आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ ।
संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ११:४४