सूचनाको शक्ति - The Power Of Information

        

सेयर बजारमा नाटकीय सुधार, ८.७ अंकले बढ्यो


काठमाडौं । निकै कोलाहलपूर्ण रहेको सेयर बजार आज बजार नाटकीय रुपमा सुधारिएको छ । मङ्गलबार सेयर बजार बढ्ने र घट्ने लुकामारी चलिरहँदा अन्तिम समयमा आएर सुधारको बाटो तय गरेको हो । सेयर बजार मापकका रूपमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मङ्गलबार ८.७ अङ्क (०.६८ प्रतिशत)ले बढेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले एक विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भनेर सेयरका खेलाडीहरुले बजारलाई प्रभावित बनाउने र राजनीतिक दबाब सिर्जना गर्ने वातावरण बनाउन थालेका थिए । तर, मङ्गलबार एकाएक बजारमा सुधार देखिएपछि सबैको बोल्ने बाटो बन्द भएको छ । आइतबार र सोमबार मात्रै दोहोरो अङ्कले बजार घट्दा करिब ५८ अर्बको पुँजी स्वाहा भएको लगानीकर्ताहरुले दाबी गर्दै आएका छन् ।
डा. खतिवडा अर्थमन्त्री नियुक्त भएको भोलिपल्ट कारोबारको मध्य समयमा साढे १८ अङ्कभन्दा बढी बढेको सेयर सूचक कारोबार बन्द हुँदा भने ५ अङ्कले मात्रै अर्थमन्त्री खतिवडालाई स्वागत गर्दै बजार १३६४.८१ अङ्कमा पुगेर रोकिएको थियो । त्यसअघि पनि बजार निरन्तर घट्ने क्रममा थियो भने त्यसपछिका तीन दिनमा निरन्तर ७७.०७ अङ्क घटेर सोमबार १२८७.७४ अङ्कमा कारोबार रोकिएको थियो । मङ्गलबार भने कारोबार सुरु हुनासाथ बजार बढेर १२९०.०३ अङ्कमा चढे पनि त्यसपछि निरन्तर घट्दै १२६७.५५ अङ्कमा झरेको थियो ।
आजको कारोबार त्यतिमै सीमित भएन, फेरि बजार बढेर १३०६.०३ अङ्कमा उक्ल्यो र फेरि बजार घटेर १२८३.७९ अङ्कमा ओर्लियो । त्यसपछि भने नेप्से परिसूचक १२९६.४४ अङ्कमा पुगेर कारोबार रोकियो । पछिल्ला कारोबारले अबका केही दिन बजार १३०० अङ्ककै वरिपरि घुम्ने सङ्केत गरेको छ । त्यसपछि भने बजार फेरि नयाँ रणनीतिसाथ अघि बढ्नेछ र पछिल्ला केही दिनका कारोबार तथा बजारमा सेयर लगानीकर्ताका मनोभावना हेर्दा नेप्से परिसूचकमा अझै नकारात्मक असर देखिने सम्भावना प्रबल छ ।
मङ्गलबार होटल र अन्य समूह परिसूचकबाहेक ८ ओटा समूह परिसूचक सकारात्मक बन्दा नेप्से सूचक हरियो बनेको हो । नेप्से परिसूचक बढेसँगै सेयर कारोबार रकम पनि सोमबारको तुलनामा मङ्गलबार बढेको छ । मङ्गलबार ५ हजार ६१६ कारोबारबाट १४ लाख ४८ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भई ४८ करोड ३९ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । सोमबार ३९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार ११:४०