सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटनामा कावासोतीमा एकजनाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएपछि स्थानीयले विहानैदेखि सडक अवरुद्ध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार मध्यविन्दु नगरपालिका ३ इटौरा निवासी ५८ बर्षीय लक्ष्मण कार्कीलाई आज विहान पौने ६ बजेतिर कावासोती १६ डण्डामा सवारी साधनले ठक्कर दिएको हो ।
उनको घटना स्थलमै मृत्यु भएको र ठक्कर दिने सवारी साधन पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । स्थानीयले ठक्कर दिने सवारीसाधन पहिचान गर्नुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध पारेका हुन् । केही स्थानीय अगुवा र प्रहरी प्रशासनबीच भएको छलफल पछि दिउँसो २ बजेसम्म ठक्कर दिने सवारी साधन पहिचान गर्ने सहमतिपछि सडक खुलाउने प्रयास भएको भएपनि मृतकका आफन्त र स्थानीयले नमानेपछि अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार ०८:१४