सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपले ११ रन दिएर ६ विकेट लिए, नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले हरायो

काठमाडौं । पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली १ सय ५१ विजयी भएको छ ।

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए ।

बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १/१ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएकाे हाे ।

नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले । एक सय २३ बल खेलेका राेहितले ८६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनकाे याेगदान गरे ।

बलिङतर्फ पीएनजीका चाद साेपरले तीन विकेट लिए । त्यस्तै नाेरमन भानुआ र कबुआ माेरेले दुई/दुई विकेट लिए ।

यसअघि पहिलाे मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ०८:४४