सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर रोगीलाई मासिक ५ हजार, गरिबलाई १० हजार रुपैया भत्ता दिने सरकारको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेका छन् ।

शुक्रवार संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।

नेकपा एमालेको विरोधबीच सरकारले प्रतिष्ठापन विधेयक ल्याएको छ। उक्त संशोधित बजेटमार्फत अर्थमन्त्रीले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरे ।

यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको बताए ।

सरकारले बजेटको आकार घटाउँदै संशोधित बजेट संसदमा पेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार नेकपा एमालेको नाराबाजीको बाबजुद १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा अहिले ३७ अर्बले बजेट घटाइएको छ ।

यसपटक १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ ।

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १७:४६