सूचनाको शक्ति - The Power Of Information

        

संसद्को दुवै सदन आज

संघीय संसद्को दुवै सदनको १० औं अधिवेशन आज, यस्तो छ कार्यसूची

१३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी

काठमाडौं । संघीय संसद्को दुवै सदनको १० औं अधिवेशन आज (बुधबार)देखि सुरु हुँदै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

यसपटक संघीय संसद्मा नेकपा(एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन्।

संसद्मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको हो।

सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले बताए।

सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने उनले उल्लेख गरे। यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन्। त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ।

स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ।त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ।

सत्तापक्षतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् भने प्रतिपक्षतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको उनले बताए।

मनोनीत सांसदहरु सदाझैँ मन्त्री रहने सिटभन्दा पछाडि रहने र स्वतन्त्र सांसद प्रमुख प्रतिपक्षीको दायातर्फ, सत्तापक्ष नेकपा (एकीकृत समाजवादी) भन्दा ठीक पछाडि रहने गरी व्यवस्थापन गरिएको छ।

बुधबारको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने उनले बताए। त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।

संसद्को यस अधिवेशनमा संसद्मा पेस भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद् सचिवालयले जनाएको छ।

सदनको नवौँ अधिवेशन गत साउन ३२ गते अन्त्य भएको थियो।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ०७:४९