काठमाडौं । बिहान ७ बजेतिर भवदीप कार्की छिमेकी तेजबहादुर कार्कीको घरमा पुगे । उनी पुग्दा तेजबहादुरका ८९ वर्षीय बुबा बौद्धमान निदाइरहेका थिए । उनकी श्रीमती नजिकै लडिरहेकी थिइन्, उनको मृत्यु भइसकेको रहेछ । भवदीपले बौद्धमानलाई ब्यूझाउँदै उठाएपछि घरका अरु सदस्यको सोधीखोजी भयो । तर, कोही भेटिएनन् ।
नजिकै घरबाट अर्का एक जना के भयो भन्दै कुद्दै आए । आउँदा तिनले बाटोको खोल्सामा दुई जनाको शव देखे । त्यसपछि हल्लाखल्ला भयो गाउँलेहरु जम्मा हुन थाले । ‘बुढो बुबामात्र हुनुहन्थ्यो । त्यसछि आमालाई उठाउन खोज्दा परिवारका अरुको खोजी भयो । तर, कोही पनि बोलेनन् । पछि त शव भेटिन थाले,’ भवदीपले सुनाए ।
घटना आज बिहान संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ को हो, जहाँ एकै परिवारका ६ जना सदस्य मृत अवस्थामा भेटिए । घटनाको परिस्थितजन्य अवस्थाले उनीहरुको हत्या भएकोमा शंका छैन । दुई नाबालकसमेत मारिएका छन् । उनीहरुको शव घरभन्दा माथि भेटिएको थियो ।
‘सायद उनीहरु भाग्दै थिए होलान् । नाबालकको शव घरमाथि भेटियो । उनीहरुको शव घोप्टो परेको थियो,’ भवदीपले सुनाए । गाउँमा ६ जनाको हत्या भएपछि वातावरण आतंकित थियो । त्यहीबाट वडा अध्यक्ष खेमनाथ कटुवाललाई फोन गरेर जानकारी गराए । कटुवालले प्रहरीलाई खबर गरे र उनीहरूसँगै लागे घटनास्थल ।
‘बाटो हिँड्नेले दुई जनाको शव देखेपछि बिहान मलाई खबर भयो । नसोचेको घटना भएको थियो । त्यसपछि मैले प्रहरीलाई खबर गरेँ र प्रहरीलाई लिएर सँगै यहाँ आएँ,’ कटुवालले भने, ‘मेरो घरबाट यहाँसम्म आइपुग्न डेढ घन्टा लाग्छ ।’ कटुवालसँगै तीन जना प्रहरी घटनास्थल पुगेका थिए । मादी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर कार्की पनि घटनास्थल पुगेका थिए ।
‘म पुग्दा शवहरु घोप्टो अवस्थामा थियो । दुई महिलाको लास एकै ठाउँमा देखेको हुँ,’ उनले भने । उनका अनुसार ६ जनामध्ये एक जनाको पेट र टाउकोमा धारिलो हतियारले हानेको संकेत देखिएको छ भने बाँकीको ढुंगाले हानेर हत्या गरेकोजस्तो देखिन्छ । प्रहरीसँगै घटनास्थल पुगेका सोही वडाका अध्यक्ष कटुवालका अनुसार पेट र टाउकोमा धारिलो हतियार प्रहार भएका व्यक्ति तेजबहादुर हुन् ।
‘यहाँ आइपुग्दा ८९ वर्षीका बौद्धमान कार्की घरभित्रै हुनुहुँदो रहेछ । घरभित्रै उहाँकी श्रीमतीको चाहिँ हत्या भएको थियो । हत्या भइरहँदा उहाँले केही थाहा पाउनु भएको रहेनछ,’ कटुवालले भने, ‘घरभित्रै श्रीमती मारिएको भए पनि बौद्धमान कार्कीले थाहा पाउनु भएनछ । कान कम सुन्नुहुन्छ उहाँ । बेलुका ६ बजे खाना खाएर सुतेको थिएँ, त्यसपछि केही थाहा छैन भन्नुभयो ।’ घरमा रहेका ७ जनामध्ये एकजना मात्र जिवित रहे अहिले ।
चार पुस्ताको एकै चिहान बनेको छ यो ठाउँ । ‘घर बाहिर बाटो र मकै बारीमा ५ जनाको लास भेटियो । घटना हेर्दा योजना बनाएरै हत्या भएजस्तो लाग्छ,’ वडा अध्यक्ष कटुवालले भने, ‘मकैबारी फाँडिएको छ । लखेटीलेखटी मारेजस्तो देखिन्छ । चुरा पनि फुटेको भेटियो ठाउँठाउँमा । मारेर भाग्दा हुनुपर्छ बारीमा मकैका बोट लछारिएको देखिन्छ ।’ यतिधेरै जनाको हत्या लखेटी लखेटी भएको हो भने कसरी छिमेकले थाहा पाएनन् त ?
प्रत्यक्षदर्शीहरुका अनुसार जुन घरभित्र र बाहिर हत्या भयो उक्त ठाउँ थोरै एकलास छ, नजिकै खोल्सा सहितको । यति ठूलो घटना हुँदा पनि किन थाहा पाएनन् त कसैले ? ‘लखेटीलखेटी मारेको हो भनेर ठोकुवा गरौं भने गाउँलेले थाहा पाउनुपर्ने । पक्कै चिच्याएका थिए होलान् । नत्र नाबालकहरुलाई समेत नछोड्ने गरी हत्या गर्ने भन्ने सानो कुरा होइन,’ कटुवालले भने, ‘धेरै एकलास पनि होइन, ठाउँ । पाँच÷सात मिनेटको दुरीमा अरु घरहरु पनि छ ।’ छिमेकहरु आफैँ अलमलमा छन् कसरी घटना भयो भन्नेमा ।
कार्की परिवारका दुई सदस्य विदेशमा छन् । विदेशमा हुने एकजनाकी श्रीमती यहीँ थिइन्, उनको पनि हत्या भएको छ । ६ जनाको मृत्यु भएको घटनास्थलमा दिउँसो १ः३० बजेसम्म ३ जना प्रहरीले कभर गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट कुकुर, फरेन्सिक टोली घटनास्थलतिर हिँडिसेकको छ । केही घन्टामा नै उनीहरु त्यहाँ पुग्नेछन् । त्यसपछिमात्र सुरु हुनेछ, यति डरलाग्दो हत्याको अनुसन्धान ।
।