सूचनाको शक्ति - The Power Of Information

        

विश्व समाचार

३२ वर्षीय युवाको नेतृत्वमा तालिबानको प्रतिरोध !

बीबीसी । लगभग पूरै अफगानिस्तान कब्जा गरेको तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएको दुई साता बितिसक्दा पनि त्यहाँदेखि नजिकै रहेको पन्जशीर उपत्यकामा पकड कायम गर्न संघर्ष गरिरहेको छ । तालिबानले पन्जशीर उपत्यकालाई घेरा हालेको र भीषण बमबारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तर, तालिबानसँग लडिरहेका पन्जशीरका तालिबान विरोधी लडाकुहरू र पूर्व अफगान सैनिकहरूले आत्मसमर्पण नगर्ने बताएका छन् । यसरी पूरै अफगानिस्तान तालिबानको हातमा जाँदा पनि आत्मसमर्पण नगर्ने तालिबान विरोधी समूहको नेतृत्त्व कसले गरिरहेका छन् त ?

अहमद मुसौद, ३२

तालिबान विरोधी बलको नेतृत्त्व ३२ वर्षीय अहमद मसौदले गरिरहेका छन् । उनी ‘पन्जशीरको सिंह’ भनी चिनिने अहमद शाह मसौदका छोरा हुन् । अहमद शाह मसौद तिनै व्यक्ति हुन जसले १९८० मा सोभियत अधिपत्य र १९९० मा तालिबान शासनविरुद्ध पन्जशीर उपत्यकालाई रक्षा गरेका थिए ।

अलकायदाको आत्मघाती दस्ताले २००१ मा उनको पिताको हत्या गरेको थियो । त्यतिबेला अहमद मसौद किशोर अवस्थामा थिए । बेलायतको स्यान्र्ढस्ट रोयल मिलिटर एकेडीबाट स्नातक गरी किङ्स कलेज लन्डनमा वार स्टडिज (युद्ध अध्ययन) गरेका मसौद २०१६ मा अफगानिस्तान फर्किएका थिए । उनले गत महिना तालिबान विरोधी समूह एन्टी–तालिबान नेशनल रेसिस्टेन्ट फ्रन्ट (एनआरएफ) गठन गरे ।

‘म आत्मसमर्पण गर्नुभन्दा मर्न मन पराउँछु,’ तालिबानले काबुल कब्जा गरेपछि मसौदले आफ्नो पहिलो अन्तर्वार्तामा बताएका थिए । ‘म अहमद शाह मसौदको पुत्र हुँ । मेरो शब्दकोषमा आत्मसमर्पण भन्ने शब्द छैन ।’ उनले अहिले तालिबान विरोधी हजारौँ लडाकुहरू र पूर्व अफगान सेनाहरूको नेतृत्व गरिहेका छन् । तर, उनले अमेरिकी सेना फिर्ता भएपछि तालिबानको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १५:५८