सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

बागमतीमा मुख्यमन्त्री बन्न एकीकृत समाजवादीका पाण्डे र काँग्रेसका बानियाँको दौडधूप

मकवानपुर । पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने पक्का भएपछि बागमती प्रदेशमा मुख्यमन्त्री बन्न नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दौडधूप तिब्र पारेका छन् ।

पाण्डेले सार्वजनिक रुपमै आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । बानियाँ भने बाहिर बोल्दा गठबन्धनमा असर पर्न सक्ने भएकाले भित्रभित्रै मुख्यमन्त्री बन्ने लबिङमा छन् । स्रोतका अनुसार बानियाँले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

भन्नुपर्ने ठाउँमा भनसुन गरिसकेर बानियाँ बुधबार काठमाडौंबाट प्रदेश राजधानी एवं गृहनगर हेटौंडा झरेका छन् । बागमती प्रदेशसभामा केन्द्रीय सत्तारुढ घटक जनता समाजवादीको सांसद छैनन् । प्रमुख तीन घटक कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी मिल्दा सरकार गठनका लागि स्पष्ट बहुमत पुग्छ ।

माओवादी केन्द्रले हालै लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाइसकेको छ भने सुदुरपश्चिम र कर्णाली प्रदेशमा पनि उसकै मुख्यमन्त्री भएकाले थप दाबी गर्ने अवस्था छैन । कांग्रेसले गण्डकीमा मुख्यमन्त्री पाइसकेको छ । अब कांग्रेसले बागमतीको मुख्यमन्त्री लिएर प्रदेश १ मा बन्ने नयाँ सरकारको नेतृत्व भने नेकपा समाजवादीलाई दिने गरी केन्द्रमा चर्चा छ ।

तर यसअघि आफू मुख्यमन्त्री हुनेगरी नै प्रदेशसभामा चुनाव लडेको बताउने नेकपा समाजवादीका नेता पाण्डेले कुनै हालतमा बागमतीको मुख्यमन्त्री पद नछाड्न नेतृत्वलाई दबाब दिइरहेका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालयमा आफूलाई नयाँ दल नेकपा समाजवादीमा सनाखत गराएपछि पाण्डेले गठबन्धनबाट मुख्यमन्त्री बन्न पार्टीले आफूलाई अघि सारेको बताएका थिए ।

नेकपा समाजवादीका प्रदेशसभा सदस्य माधव पौडेलले गठबन्धन बागमती प्रदेशको मात्रै नभएर देशभरी नै भएको भन्दै आफूहरुको भागमा बागमती प्रदेशको मुख्यमन्त्री आउने दाबी गरे । उनले बागमती प्रदेशमा आफ्नो भागमा मुख्यमन्त्री पर्ने भएरै राजेन्द्र पाण्डेले प्रदेशमा चौथो दल भएपनि सरकारको नेतृत्वमा दाबी गरेको बताए ।

प्रदेश सरकार गठन हुँदा नै मुख्यमन्त्रीका दाबेदार रहेका पाण्डे हालको मुख्यमन्त्री शाक्य अघि सरेपछि पछि हटेका थिए । तर त्यतिबेला शाक्यलाई संसदीय दलको नेतामा डोरमणि पौडेलले पराजित गर्दै मुख्यमन्त्री बनेका थिए । एमाले फुटको संघारमा पुग्दा संस्थापन पक्षमै रहेपछि शाक्यलाई पौडेलकै प्रस्तावमा संसदीय दलको नेता हुँदै मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

‘यसअघि गठबन्धनमा कांग्रेसको नेतृत्वमा अघि बढ्ने सहमति’


नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता बानियाँले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत रहेको संकेत गरेका छन् । ‘मुख्यमन्त्री को बन्ने भन्ने कुरा शीर्ष नेताहरुले टुंगो लगाउनुहुनेछ । यसमा म केही भन्न चाहन्न, तर यसअघिको परिस्थितीमा कांग्रेसको नेतृत्वमा अगाडी बढ्न सबै सहमत हुनुहुन्थ्यो,’ बानियाँले भने ।

उनले अहिले परिस्थिति अलि फरक भयो नत्र विपक्षी गठबन्धनमा मेरो नेतृत्वमा अघि बढ्ने कुरा भएको पनि बताए । उनले एमाले विभाजन भएर नयाँ दल दर्ता हुनुअघि नै आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउने विषयमा सबै दल सहमत रहेको बताए । बानियाँले शीर्ष नेताहरुको निर्णय नै अन्तिम निर्णय रहेको भन्दै बागमती प्रदेशमा बन्ने गठबन्धन सरकारमा कांग्रेस पनि सहभागी हुने बताए ।

साना दलको साथ लिए पनि मुख्यमन्त्रीलाई बहुमत पुग्दैन


प्रदेशमा एमालेका १२ सांसदले पार्टी छाडेर नेकपा समाजवादी रोजेसँगै मुख्यमन्त्री शाक्य स्पष्ट अल्पमतमा परेकी छिन् । संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्री नियुक्त शाक्यले पार्टी विभाजन भएकाले अब प्रदेशसभामा विश्वासको मत लिनै पर्छ । उनले मुख्यमन्त्रीको सपथ लिइरहँदा एमालेका ५६ सांसद थिए ।

बहुमत प्राप्त दलको हैसियतमा उनले सपथ लिएकी हुन् । १२ सांसद समाजवादीमा गएपछि अब एमाले ४४ सिटमा खुम्चिएको छ । विश्वासको मत पाउने कसरत गर्न शाक्यले प्रदेशसभा बैठकमै नगइ प्रदेशसभा अधिवेशन अन्त्य गरिन् । तर सबै साना दलले उनलाई विश्वासको मत दिए पनि अब बहुमत पुग्दैन ।

प्रदेशसभामा विवेकशील साझाका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २÷२ तथा एक जना स्वतन्त्र सांसद छन् । विवेकशीलले पाँच दलीय गठबन्धनलाई नै सहयोग गर्ने घोषणा गरिसकेकाले शाक्यको बहिर्गमन निश्चित छ । माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा समाजवादीका १२ र विवेकशील साझाको ३ सिट जोड्दा ६० सिट हुन्छ । कूल १०९ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ५५ सिट पर्याप्त हुन्छ ।

यसरी हेर्दा मुख्यमन्त्री केन्द्रीय सत्तारुढ गठबन्धनले पाउने पक्का छ । तर कुन पार्टीको भागमा पर्छ भन्ने कुरा केन्द्रमा शीर्ष नेताले गर्ने निर्णयमा भर पर्छ । स्रोतले बताएअनुसार सकभर एक नम्बर प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिएर बागमती प्रदेशको कमाण्ड आफूले लिनपर्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १८:५४