सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सुदूरपश्चिम प्रदेशमा १३ जना एमालेका सांसद एकीकृत समाजवादीतिर

काठमाडौं । एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् । सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन् ।

पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन् । प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसद अमरबहादुर साउद, बलबहादुर सोडारी, तारा लामा तामाङ, कुलवीर चौधरी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोजेका छन् ।

निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो । एमाले उपाध्यक्ष भीम रावलले तान्न सक्ने खतरा देखेर मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको हो । प्रदेशसभामा एमालेका सभामुखबाहेक २४ सांसद छन् ।

विगतमा त्यहाँ १७ जना माधवकुमार नेपाल र सातजना केपी शर्मा ओलीको पक्षमा थिए । माधव नेपालतिरका १७ मध्ये १३ जना नेकपा एसतिर खुलेका हुन् । त्यहाँकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मंगलबार १३ जनाले सनाखत गरेको बताउँदै यो संख्या केही दिनमा अझै बढ्न सक्ने बताएकी छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १७:१६