सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा बढ्दै बलात्कारका घटना

सांकेतिक तस्वीर

सल्यान । सल्यानमा दुई वर्षयता कोरोना अवधिमा बलात्कारका घटना बढ्दै गएको पाइएको छ । सल्यान जिल्ला अदालतको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्षमा ७० वटा यस्ता बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा २४ वटा यस्ता घटना दर्ता भए पनि २०७७/०७८ मा बढेर ४६ वटा बलात्कारका घटना भएका छन् ।

सानै उमेरमा विवाह, अशिक्षा, जनसङ्ख्याको वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरूपयोग, बेरोजगारी, सांस्कृतिक विचलनजस्ता कारणले यी घटनामा वृद्धि भइरहेको बताइएको छ । जिल्ला अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको अत्यन्तै दुरूपयोग हुँदा यसले यस प्रकारका घटना बढाउन सहयोग पुर्याएको बताए ।

कानुन व्यवसायी सिपी ओलीले विगतमा यस प्रकारका घटना घटेको भए पनि सार्वजनिक हुन नसकेको र अहिले सार्वजनिक हुँदा बढी देखिएको स्रेस्तेदार ज्ञवालीले जानकारी दिए । मानव अधिकारकर्मी शोभिता बस्नेतले महिला हिंसा, घरेलु हिंसाजस्ता सामाजिक आपराधिक क्रियाकलाप अन्त्यका लागि कुनै एक पक्षको पहलले मात्र सम्भव नहुने भएकाले सबैको सामूहिक पहल आवश्यक भएको बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १२:४४