सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तान संकट:

अफगानिस्तानबाट अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता, २० वर्षे युद्ध समाप्त

काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य

काठमाडौँ । अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाएको छ ।

तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ ।

योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ । यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ ।

अमेरिकाले आफ्नो इतिहासमा सबैभन्दा लामो युद्ध अन्त्य भएको जनाएको हो । सन् २००१ मा अल कायदाले गरेको आतंककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो । उसलाई नेटो अन्तर्गतका सहयोगी राष्ट्रहरुले साथ दिएका थिए ।

अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन निकै गम्भीर र ‘पराजय’ पूर्ण देखिएको छ । तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेसँगै अमेरिकाले आफ्नो अभियान अन्त्य गरेको हो ।

अमेरिकी सैनिक जनरल फ्र्यांक म्याकेन्जीले पछिल्लो दुई हप्तामा अफगानीसहित एक लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जानकारी दिएका छन् । अमेरिकी सैनिकको फिर्ती प्रक्रियाको नेतृत्व जनरल म्याकेन्जीले गरिरहेका हुन् ।

अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता भएसँगै तालिबान समर्थक शक्तिले काबुलमा उत्सव मनाएका छन् । त्यसक्रममा काबुलमा भीषण गोलीहानाहान भएको उल्लेख छ ।

जनलर म्याकेन्जीले अफगानिस्तानमा अमेरिकी सैन्य अभियानको क्रममा ठूलो मूल्य चुकाउनु परेको बताएका छन् । सन् २००१ यता २४ सय भन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको उनले बताए ।

दुई दशक लामो अफगानिस्तान युद्ध अमेरिकाका चार राष्ट्रपतिले देखे । जर्ज डब्लु बुसले सेप्टेम्बर ११ मा भएको आक्रमणपछि सैन्य अभियानको घोषणा गरेका थिए ।

बाराक ओबामाले आफ्नो दुवै कार्यकालमा हिंसाका घटनाहरुको सामना गरे अफगानिस्तान युद्धको क्रममा । उनले अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या बढाउनु परेको थियो ।

डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकलाई फिर्ता ल्याउने वाचा गरेका थिए र उनले तालिबानसँग सम्झौता पनि गरे । तर अमेरिकी सैनिक फिर्ता ल्याउने जिम्मेवारी वर्तमान राष्ट्रपति जो बाइडेनलाई आइपर्‍यो ।

पछिल्लो दुई हप्तामा अस्तव्यस्त अवस्थामा ठूलो संख्यामा मानिसहरुको उद्धार भयो । र यो क्रममा भएका आक्रमणमा सर्वसाधारणसहित १३ अमेरिकी सैनिकको ज्यान गयो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०७:४२