काठमाडौं । निरन्तरको बर्षातका कारण सोलुखुम्बुको लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प रहेको छ ।
निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन् ।
उडान बन्द हुँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी, फलफूलका साथै मासु, अण्डा लगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । खाद्यान्नको मौज्दात पर्याप्त भएपनि अन्य उपभोग्य वस्तुको अभाव हुन थालेको हो ।
लुक्ला क्षेत्रमा तरकारी उत्पादन नहुने र सडक यातायातको पहुँच नपुगेकाले ताजा तरकारी, मासु, अण्डा, फलफुलका लागि हवाई सेवामै भर पर्नु पर्दछ ।
पर्यटकीय सिजन नभएपनि फाट्टफुट्ट पर्यटक पुगिरहेकाले उनीहरुलाई सेवा दिन समस्या हुन थालेको होटल व्यवसायीहरुले बताएका छन् ।
उडान नहुँदा करिब ३० जना भन्दा बढी यात्रु लुक्लामै रोकिएको नेपाल नागरिक उड्ययन कार्यालय लुक्लाले जनाएको छ ।
।