काठमाडौं । दार्चुलामा तुइन तर्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।
पटक–पटक म्याद थप हुँदासमेत समितिले प्रतिवेदन बुझाउन नसकेको हो । उक्त घटनाको अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
१५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् ।
।