सूचनाको शक्ति - The Power Of Information

        

विचार

जलवायु परिवर्तन : जोखिमपूर्ण भविष्य

छोटो समयमा तापक्रम ह्वात्तै बढ्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको छ ।

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण मनुष्यको भविष्यमाथि दिनदिनै गहिरा प्रश्नहरू उठेका छन् । विश्वको तीन चौथाइ जनसंख्या चाँडै भयानक लूको चपेटामा पर्नसक्ने देखिएको छ । वैज्ञानिकहरूले अहिलेको जत्तिकै ठूलो मात्रामा ग्रीन हाउस ग्याँस उत्सर्जन भएमा अझ निकट भविष्यमै पृथ्वीमा बस्न नसक्ने स्थिति आउनसक्ने चेतावनी दिएका छन् । १९८० देखि अहिलेसम्म संसारमा १९ सय भागमा गर्मीका कारण मानिसको मृत्यु भएको छ । सन् २०१० मा मस्कोमा १० हजार ८०० मानिस गर्मीले गर्दा मरे । सन् २००३ मा पेरिसमा करीब चार हजार ९०० मानिसले गर्मीकै कारण ज्यान गुमाए ।

अनुसन्धानकर्ताहरूका अनुसार जलवायुमा तीव्र परिवर्तन आएका कारण गर्मी र उकुसमुकुस भएर मानिस मरिरहेका छन् । छोट्टो समयमा तापक्रम ह्वात्तै बढ्दा मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको छ । वैज्ञानिकहरूका अनुसार कार्बन उत्सर्जन यही गतिमा भइरहने हो भने यो शताब्दीको अन्त्यसम्ममा विश्वका ७४ प्रतिशत मानिसले गम्भीर रोगको सामना गर्नुपर्ने हुन्छ । तर्साउने कुरा त, ग्रीन हाउस ग्याँसको उत्सर्जन जति घटाए पनि संसारको ४७ प्रतिशत जनसंख्या सन् २१०० सम्म घातक लूको शिकार हुनेनै छन् । अहिले संसारमा मानिसको क्रियाकलापका कारण १७० गुणा तीव्रताका साथ तापक्रम बढिरहेको छ ।

मानिसको शरीरले ३७ डिग्री सेल्सियस शरीरको तापक्रम सशन सक्छ । तर तातो हावाको लूले चपेटामा पार्दा मानिसले सहन नसक्ने स्थिति आउँछ । शरीरबाट पसिना निस्कन पाएन भने घातक हुन्छ । पुराना समस्या त सम्बोधन गर्न नसकेका हामीले यी नयाँ चुनौतीको सामना कसरी गर्ने ? सबैले घोत्लिएर सोच्नुपर्ने भएको छ । किनभने, मानिसको स्वेच्छाचारी क्रियाकलाप, अहम र म मात्र बाँचौ भन्ने सोचाई र अरु जाती, अरु प्राणी एवं प्रकृतिप्रतिको उदासिन व्यवहारबाट यो पृथ्वीमा भविष्यमा मानव जातिले ठूलो मूल्य चुकाउनु पर्ने कुराको संकेत गर्दछ । विश्वमा भएको चरम औद्योगिकीकरण एवं मानिसको प्रकृति र वातावरणप्रति उदासिन बन्दै गएको व्यवहारबाट विश्वमा वातावरणको अवस्था खस्कदै गएको छ ।

राजनीतिबाहेक बाँकी केही पनि होइन भन्ने मानसिकताले वातावरण संरक्षणको मुद्धा ओझेलमा परिरहेको छ । वातावरण संरक्षणमा ध्यानै नदिने, अर्थतन्त्र नबनाउने, वातावरण मैत्री विकासमा ध्यानै नदिने अनि कोरा राजनीतिबाट मात्र मुलुक चल्छ भन्ने नेता र दलहरुको मानसिकताले मुलुक समस्याको भूमरीमा फँस्दै गएको छ । विश्वमा भएको तापमान बृद्धिको विकराल समस्या निम्त्याउन खासै ठूलो भूमिका नभएका नेपाल लगायतका विकासोन्मुख देशहरुले सबैभन्दा बढी जलवायु परिवर्तनको असर व्यहोर्नु परिरहेको छ ।

एसियाकै पानीको स्रोतको रुपमा रहेका हाम्रा हिमालहरु बढ्दो तापक्रमका कारणले पग्लिन थालेका छन् । जसको कारण उच्च हिमाली भेगमा रहेका हिमताल फुट्ने खतरामा छन् । समयमा वर्षा हुँदैन, अतिवृष्टि, खण्ड वृष्टि हुन्छ, जसले गर्दा प्राकृतिक प्रकोपहरु बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक विपत्ती व्यहोर्नु पारिरहेको छ । खाद्यान्न उत्पादन लगायतका मानव जीवनसँग प्रत्यक्ष सरोकार हुने हरेक कुराहरुमा नकारात्मक असर पारिरहेको छ । समुद्री सतह बढिरहेको छ । जसका कारण अबको पचास वर्षमा सार्कको सदस्य समेत रहेको माल्दिभ्सको अस्तित्वनै खतरामा पर्ने वैज्ञानिकहरुले जनाएका छन् । नेपाल पनि जलवायु परिवर्तनको प्रभावमूलक संवेदनशील मुलुक हो ।

नेपालको भूधरातलीय संरचना कमजोर प्रकृतिको छ । त्यसकारण प्रकोप तथा विपत्तिको असर वहन क्षमता पनि न्यून देखिन्छ । बढ्दो जनसंख्या, अव्यवस्थित खेती तथा बस्ती प्रणालीले जोखीमलाई झनै बढाउँदै लगेको छ । तापक्रम वृद्धिले वर्षायाम र मौसमी स्वभावलाई परिवर्तन गर्दै लगेको छ । मनसुन प्रक्रियाको अनिश्चिताले कृषि उत्पादनलाई सीधै चुनौती दिएको छ । परम्परागत कृषि प्रणाली अबको केही समयमा उही रूपमा रहन नसक्ने देखिन्छ । यसले बढ्दो जनसंख्याको खाद्य सुरक्षालाई पनि चुनौती दिएको छ । चेतना र प्रविधि उपयोगको स्तर पनि न्यून छ । विकासको अवस्था पनि प्रारम्भिक नै छ ।

त्यसैले यहाँ जलवायु परिवर्तनको असर अन्य मुलुकको तुलनामा बढी हुन गएको हो । जलवायु परिवर्तनले खासगरी अधिक तापक्रम वृद्धि हुने, गर्मी हुने दिनको संख्यामा वृद्धि हुने, तातो हावा बहने प्राकृतिक घटनाक्रममा वृद्धि हुने, न्यूनतम तापक्रम, ठण्डी दिनहरू, हिउँ वा तुषारो पर्ने दिनको संख्यामा कमी हुने, कतै तीव्र वर्षा हुने, कतै सुक्खा खडेरीका घट्नामा वृद्धि हुने, नयाँनयाँ सक्रमित रोगहरूको विस्तार हुने, वनजङ्गल पातलिँदै जाने, जनजीवनका लागि पानीसम्बन्धी समस्या पर्ने देखिन्छ । जलवायु परिवर्तनले मानिसको आर्थिक तथा सामाजिक पक्षहरूमा पनि नकारात्मक असर पर्ने गरेको छ । हिमनदीहरू वाार्षिक ३० देखि ६० मिटरसम्म छोटिँदै र १० देखि १२ मिटरले पातलिँदै गएका छन् ।

यसप्रकार जलवायु परिवर्तन वातावरणीय विनाशको आधार मात्र होइन, मानवजीवनको अस्तित्वको कारक पनि हो । तसर्थ यसको प्रभाव न्यूनीकरण महवपूर्ण सामयिक सवालका रूपमा खडा भएको छ । नेपालमा खेतिपाती गर्ने जमिन कम भएकाले जनसंख्या बढ्ना साथ वन फडानी गर्ने प्रवृति छ । यसले पनि वातावरणमा नकारात्मक असर पारीरहेको छ । पछिल्लो समयमा बढ्दै गएको अनियन्त्रित र अवैज्ञानिक सहरीकरणको चुनौति, विश्वमा बढ्दै गएको तापक्रमले हिमालमा हिउँ घट्दै गएर हिमनदी सुक्ने, नदिनालामा पानीको सतह घट्ने र मनसुनी हावामा परिवर्तन हुनाले आगामी दिनहरु अझ समस्या ग्रस्त हुने र वातावरणीय चुनौतीहरु अझ कहाली लाग्दा हुनेछन् । पुराना समस्या त सम्बोधन गर्न नसकेका हामीले यी नयाँ चुनौतीको सामना कसरी गर्ने ? सबैले घोत्लिएर सोच्नुपर्ने भएको छ ।

किनभने, मानिसको स्वेच्छाचारी क्रियाकलाप, अहम र म मात्र बाँचौ भन्ने सोचाई र अरु जाती, अरु प्राणी एवं प्रकृतिप्रतिको उदासिन व्यवहारबाट यो पृथ्वीमा भविष्यमा मानव जातिले ठूलो मूल्य चुकाउनु पर्ने कुराको संकेत गर्दछ । बदलिँदो हावापानीका कारण जनजीवनमा गम्भीर समस्या बढ्दै गएको छ । जलवायु परिवर्तनकै कारण मानिसको दैनिक दिनचर्यामा असर देखिएको जनाएको छ । जलवायु परिवर्तनका कारण मानिसको दिनचर्यामा प्रभाव परेको छ । मानिसको स्वास्थ्य, खाद्यान्न, पशुपालन, पानी, जैविक विविधता र पर्यटनमा प्रभाव पारिरहेको छ । मानवीय कारणले नै जलवायु छिटो छिटो परिवर्तन भइरहेको छ । खाद्यवाली र पशुपालनमा नयाँ नयाँ रोगहरु देखिएका छन्, पानीको मुहान सुक्ने र जमिन मरुभूमिकरणको प्रक्रियामा छ । वन विकासमा असर पार्ने बनमारा जस्ता झार फैलनु र कतिपय स्थानमा किसानले पेसा नै बदल्नुपरेको अवस्था समेत देखिएको छ ।

जलवायु परिवर्तनका कारण मौसम, तापक्रम, बाढी पहिरो, खाद्य सुरक्षा, आर्थिक क्षति, प्राकृतिक स्रोत साधनको उपयोगलगायत मानिसका दिनचर्यामा वातावरणीय प्रभाव परिरहेको छ । वातावरण सुहाउँदो स्थानीय सरकार, कुल ग्राहस्थ उत्पादन, हिमताल र खाद्यान्न, राष्ट्रिय अनुकुलन कार्यक्रम, स्थानीय अनुकुलन योजना, प्राकृतिक स्रोत व्यवस्थापन, लगायतका विषयमा अब केन्द्र, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्ने देखिन्छ । विकसित देशहरुले प्रदुषण गर्दा नेपालजस्ता अल्पविकसित देशले समस्या भोग्नुपरेको बताए । वातावरणीय विषयमा व्यापक अध्ययन अनुसन्धान स्थानीय तहमा पनि हुन जरुरी छ । मानव अस्तित्वको अन्त्य कसरी हुन्छ ? अन्त्य भयो भने के कारणले हुन्छ ? प्रायः धेरै मानिसलाई यी दुईले कारणले सताइरहेको हुन्छ । एक अध्ययन अनुसार दश कारणले मानव अस्तित्व जोखिममा रहेको देखाएको छ ।

अध्ययनमा तीव्र जनसंख्या वृद्धि वा जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक विपत्तिले मानव अस्तित्वको अन्त्य हुने संकेत गरिएको छ । जलवायु परिवर्तन, तीव्र जनसंख्या वृद्धि र वृद्धि भइरहेको जनसंख्यालाई खाद्यान्न र पानी उपलब्ध गराउने कार्य निकै चुनौतिपूर्ण रहेको अध्ययनले देखाइसकेको छ । अतः मानव जातिले आफ्नो भलाई चाहने हो र यो पृथ्वी भावी सन्ततिको लागि पनि सुरक्षित राख्ने हो भने अन्धाधुन्द प्रकृति प्रति गरिएको प्रहारलाई रोकेर आत्मालोचना गर्दै वातावरणको संरक्षणमा जुट्नु पर्छ । चरम भौतिक विकासबाट मात्र मानिसले केही हासिल गर्न सक्दैन जब पृथ्वी नै सुरक्षित छैन भने । त्यसैले आजैका दिनदेखी हामी सबै वातावरणप्रति सचेत बनौ । प्रकृतिको संरक्षणका लागि सबै एक जुट भएर लागौं । अनि मात्र हामीले सुरक्षित, शान्त र समृद्ध पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौं ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १०:१२