सूचनाको शक्ति - The Power Of Information

        

बालिकाको मृत्यु भएपछि सल्यानबाट बसाइँ सरे राउटे

सल्यान । सल्यानको कालीमाटी गाउँपालिका–५, काल्चे च्युरीमा बस्दै आएका राउटेहरू बसाइँ सरेका छन् । उनीहरू असार ८ गते सल्यान फर्किएका थिए । सल्यानमा बस्दा चार जना राउटेको निधन भएपछि उनीहरूले फेरि सल्यान छोडेका हुन् । बुधबार एक बालिकाको मृत्यु भएपछि राउटे पुनः सुर्खेत फिर्ता भएका छन् ।

सल्यान र सुर्खेतको सिमानामा रहेको गुर्भाकोट नगरपालिका–१, सिमसार भन्ने ठाउँमा पुगेका छन् । गत बुधबार सात वर्षीया डवी शाहीको मृत्यु भएको थियो । सल्यान आएपछि असार महिनामात्रै राउटे समुदायका चार जनाको मृत्यु भएको छ । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरूको अत्यधिक मदिराको लतले धमाधम मृत्यु भएको छ ।

दुई वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाहीको एक हप्ताको फरकमा ज्यान गएको थियो । आफ्नो समुदायमा कसैको निधन भएमा बसाइँ सराइ गर्ने राउटे समुदायमा यो पटक पनि बसाइँ सरेको छ । मुखिया वीरबहादुर शाहीका अनुसार यो पटक बस्तीमा डवी शाहीको मुत्यु भएपछि बसाइ सरिएको हो ।

सल्यान कालीमाटी काच्चे च्युरीबाट बसाइँ सराइ गरेको राउटे समुदाय केही दिन सल्यान सुर्खेत सिमानामा रहेको गुर्भाकोट नगरपालिका–१, सिमसारमै रहने बुझिएको छ । बालिकाको मृत्यु भएपछि उनीहरू कम्तीमा १२ दिन यहीँ बस्ने र त्यसपछि कहाँ जाने टुङ्गो लागेको छैन । बस्ती सिमसारमा बसे पनि सबै सामान बोटेचौर–सल्यान–तुलसीपुर सडकखण्डको सुर्खेतस्थित गैरीबजारमा राखेका छन् ।

उनीहरू जाजरकोट वा सुर्खेतको बड्डीचौरतर्फ जाने अनुमान गरिएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंसहित स्वास्थ्यकर्मीको टोली उपचारका लागि राउटे बस्तीमा पुगेको छ । राउटे समुदायको अवस्था बुझ्नुका साथै स्वास्थ्य शिविर सञ्चालनका लागि राउटे बस्ती पुगेको प्रजिअ होमागाईंले बताइन् । उनले बालिकाको निधन भएपछि नजिकै बसेको र जाँच गरेर फर्किने जानकारी दिइन् ।

दुई वर्षअघि १५६ जना रहेका राउटे समुदायको सङ्ख्या अहिले घटेर १४१ मा झरेको छ । कालिमाटी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले राउटेलाई सुरक्षित तवरले बसोबास मिलाउन गरिएको भए पनि एक बालिकाको मुत्युपछि शुक्रबार सल्यान सुर्खेत सिमानामा बसाइँ सरेको खबर आएको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:२७