सूचनाको शक्ति - The Power Of Information

        

रोजगारीको पीडा

कोरोनाको त्रासमै भारत जान बाध्य

फाइल तस्वीर

बाँके । भारत र नेपाल दुवै देशमा कोरोना सङ्क्रमण केही कम भए पनि सङ्क्रमणको त्रास कायमै छ तर महामारीको वास्ता नगरी ठूलो सङ्ख्यामा नेपालीहरू कामको खोजीमा दिनहुँ भारत गइरहेका छन् ।

चाडपर्वको मौसम सुरु भइसके पनि नेपालमा रोजगारी र काम नपाएको भन्दै उनीहरूले महामारीको समेत वास्ता नगरी भारत जानुपरेको दुःखेसो पोख्छन् । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक एक हजारभन्दा बढी युवा रोजगारीका लागि भारततर्फ गइरहेको नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले केही दिनयता आएर फेरि दैनिक भारत जाने नेपालीको लर्को सीमा क्षेत्रमा लागिरहेको बताए । उनले अहिले दैनिक एक हजारभन्दा बढी नेपाली युवा कामका लागि भारततर्फ गइरहेको जनाए ।

जमुनाह प्रहरीका अनुसार केही समयअघिसम्म भारतबाट फर्किने नेपालीको सङ्ख्या बढी थियो भने अहिले फेरि भारत जानेको सङ्ख्या अत्यधिक बढेको छ । कोरोना पूर्ण रूपमा नियन्त्रणमा नआए पनि नेपालमा काम नपाएपछि बाध्य भएर फेरि कामका लागि भारत जानु परेको सिमानामा भेटिएका अधिकांश युवाको भनाइ छ ।

भारतमा कोरोना बढेपछि तीन महिना पहिले मात्रै नेपाल फर्किएका जाजरकोट ढिमेका नरेश थापाले स्वदेशमा कुनै काम नै नपाएर भोकै बस्ने अवस्था आएपछि बाध्य भएर फेरि भारत जान थालेको बताए । ‘कोरोनाको त्रास बाँकी नै रहे पनि खान नपाउने अवस्था आएपछि मृत्युको वास्ता नगरी भारत जान बाध्य हुनुपर्यो,’ उनको दुःखेसो छ ।

थापासँगै १६ जना युवा भारतको गुजरात गान्धीनगरतर्फ लागेका थिए । यस्तै सल्यान श्रीनगरका जीवन विक भन्छन्, ‘स्वदेशमा काम र माम पाइएको भए अर्काको देशमा हन्डर खान जाने सोख कसलाई हुन्थ्यो र ?’ उनले कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रामा निस्किएको बताए ।

कालिकोटका राकेश मल्लले आफ्नो देशमा आफन्तहरूसँग बस्ने, चाडपर्व पर्व मनाउने तथा रमाउने रहर सबैलाई हुने बताउँदै तर रोजगारीको अभावले भारत जानु आफूहरूको नियति नै बनिसकेको बताए । नेपालमा बसेर दैनिक गुजारा गर्ने समस्या भएपछि बाध्य भएर कामका लागि भारतीय भूमि रोजेको नाकामा भेटिएका अधिकांश युवाको दुखेसो छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:२३