सूचनाको शक्ति - The Power Of Information

        

वैकल्पिक शिक्षण विधि

सल्यानका ६० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित

सल्यान । सरकारले कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने भएकाले विद्यालयलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ तर वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने काम सल्यानमा भने चुनौतीपूर्ण बनेको छ । सल्यानका विद्यालय बन्द हुँदा ६० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

सल्यानमा ४४३ प्राथमिक, ८९ वटा माध्यमिक सामुदायिक विद्यालय र ५१ वटा संस्थागत विद्यालय छन् । त्यसमध्ये १६ वटा माध्यमिक विद्यालय इन्टरनेट पहुँच बाहिर छन् । जसका कारण वैकल्पिक शिक्षामार्फत सिकाइलाई निरन्तरता दिने सरकारी योजना कार्यान्वयनमा चुनौती देखिएको हो ।

नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगिसक्दासमेत सल्यान जिल्लामा न त विद्यालय सञ्चालन हुन सकेका छन् न त वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन नै भएको छ । जिल्लाका ग्रामीण भेगका अधिकांश बालबालिका भने घरायसी काममा व्यस्त हुने गरेका छन् ।

सिद्धकुमाख गाउँपालिका–१ की अभिभावक राजकुमारी बस्नेतले गाउँमा इन्टरनेट र फोनको सुविधा नहुँदा ग्रामीण भेगका बालबालिका यतिबेला पठनपाठनमा भन्दा घरायसी कामकाज र मजदुरीमा व्यस्त भएको बताइन् । उनका अनुसार विद्यार्थीहरू घरायसी काममा अल्झिएका छन् ।

दार्मा गाउँपालिका फारुलाचौरमा रहेको जनज्योति माविले वैकल्पिक माध्यमबाट पढाउन सहज नभएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मीनबहादुर वलीले गाउँपालिका केन्द्रमा फोनले राम्रोसँग काम नगर्ने बताए । उनका अनुसार वैकल्पिक माध्यमबाट पढाउन समस्या भएको छ । इन्टरनेट मात्र होइन मोबाइल फोनले समेत काम गर्दैन ।

गाउँमा मात्र होइन सदरमुकाममा रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि अन्य विद्यालय भने बन्द नै छन् । जिल्लाकै लुहापिङमा रहेको त्रिभवुन जन माध्यमिक विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

तर ती विद्यालयले पनि सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन सकिरहेका छैनन् । सदरमुकाम खलङ्गा शीतलपाटीमा रहेको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हीरालाल नेपालीले पटकपटक आउने जाने विद्युत् र एउटै घरमा धेरै विद्यार्थी हुँदै पनि अनलाइन कक्षा प्रभावकारी हुन नसकेको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:०८