काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि भाेलि बुधवार बोलाएको छ ।
आयोगले दुवै दललाई सनाखतका लागि अढाइ घण्टा समय निर्धारण गरेको छ । बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।
आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।
राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
।