काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेका ‘एकता पक्षधर नेताहरू’बीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरू क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरूले बताएका छन् ।
ओली निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । ‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ। १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ । केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील हुन्छ,’ भट्टराईले भने, ‘ती कसरी क्रियाशील हुन्छन् भोलि हामी त्यो ढाँचाबारे कुरा गर्छौ । भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ ।’
भट्टराईले भोलि नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति प्रतिक्रिया दिए । २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति भन्नुको अर्थ रामबहादुर थापा ‘बादल’ समूह (पूर्व माओवादी समूह) बाहेकको बैठक भनेर बुझ्नु पर्ने बैठकमा सहभागी एक नेताले बताए । बादल समूहबारे एमालेको संयुक्त बैठक पश्चात् निर्णय लिइने बताइन्छ ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका प्रदीप ज्ञवालीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए । लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए । १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समय तालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ । कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप–महासचिव विष्णु पौडेल सदस्य छन् यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्नेछ ।
।