सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

विदेश छाडेर गाउँमै चलाउनेको ‘कृषि कर्म’

विदेश जाने भनेर तम्सिएका चलाउने अहिले आफ्नै कर्ममा सन्तुष्ट छन् ।

बाँके । बिनोदकुमार चलाउने, उनी हुन्, भेटनरी असिस्टेन्ट । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीको शिवराजपुरमा बस्छन् । चलाउने भर्खर २९ वर्ष पुगे । विदेश जाने सपना बोकेर कृषि प्राविधिक अध्ययन गरे । विदेश जाने भनेर केही समयसम्म काठमाडौंमै बसेर तयारी गरे । ‘के–के भयो म विदेश जान सकिँन,’ उनले भने । २०७१ सालमा उनले कोरिया जाने सोंच बनाएका थिए ।

विदेश जाने सपना पुरा नभएपछि उनले गाउँघरमै केही गर्नुपर्छ भनेर सोंच बनाएर तरकारी खेती र भैंसीपालन व्यवसायमा लागे । अहिले उनले शिवराजपुरमा भैंसीपालनसँगै तरकारी खेती गरिरहेका छन् । २०७१ सालमा बिदेश जाने सपना पुरा नभएपछि २०७२ सालमै यो पेशामा उनी तरकारी खेती र भैंसीपालन व्यवसायमा सक्रिय भए । बुवाको कृषि व्यवसायलाई समेत उनले सञ्चालन गरेका छन् ।

दुई वर्षदेखि उनले चार वटा भैंसी पालेका छन् । त्यो सँगसँगै तरकारी खेती पनि गरिरहेका चलाउनेले सिजनमा टमाटर, फुलगोभी, बन्दा, बोडी, लौकाजस्ता तरकारी फलाएर मनग्ये आम्दानी गर्दै आएका छन् । भैंसीपालनबाट दैनिक ३० लिटर दुध संकलन हुन्छ । संकलन हुने दुध कम्दीमै रहेको डेरीमा लगेर बेच्दा मासिक ५० हजार रुपैयाँ हुने आम्दानी हुन्छ भने मासिक २० हजार रुपैयाँसम्म खर्च हुन्छ ।

त्यस्तै तरकारीबाट उनले सिजनमा तीन लाख आम्दानी गर्छन् । उत्पादन हुने तरकारी नेपालगन्जको राँझा बजार र रानीतलाउस्थित सब्जी मण्डीमा लगेर बेच्ने गरेका छन् । अहिले तीन कठ्ठामा तरकारी खेती गर्दै आएका चलाउने विदेश जान नपाएकोमा कुनै चिन्ता नरहेको बताउँछन् । विदेश जाने भनेर तम्सिएका चलाउने अहिले आफ्नै कर्ममा सन्तुष्ट छन् ।

चलाउने भन्छन्, ‘कृषि पढेर विदेश जान्छु र पैसा कमाउँछु भन्ने थियो । तर त्यहाँ गर्ने मेहनत यहीँ गर्दा विदेशमा भन्दा राम्रो कमाई आफ्नै गाउँघरमा हुने रहेछ ।’ उनको तरकारी खेती र भैंसीपालनमा परिवारका आठै जना सदस्यले सघाउँछन् । बिहानै उठ्ने बित्तिकै उनी दुध लिएर डेरी पुग्दासम्म उनको परिवारका अन्य सदस्यले भैंसीलाई आहारा दिइसकेका हुन्छन् ।

‘एक्लै मैलेमात्रै गर्ने भए अलिकति गाह्रो हुन्थ्यो,’ चलाउने भन्छन्, ‘परिवारका अन्य सदस्यले पनि सघाउनुहुन्छ, त्यसैले पनि मलाई घरमै बसेर कृषि कर्म गर्न सजिलो भएको छ ।’ उनले आम्दानीबाट खर्च कटाएर बचत पनि गर्दै आएका छन् । शिवराजपुरमा अहिले उनी नमूना युवा कृषकका रुपमा परिचित हुँदै आएका छन् । शिवराजपुरमा कृषिकर्म गर्ने किसानको अग्रपंक्तिमा चलाउनेको नाम आउने गर्छ ।

उनले गरिरहेको कृषिकर्मबाट उहाँकै बुवाआमा र परिवारका अन्य सदस्य पनि खुशी छन् । गरिरहेको कृिष कार्यलाई अझ बढाउने तयारीमा पनि उनी लागेका छन् । विदेश जान नपाए पनि विदेश जाने तयारी गरेका अन्य युवालाई आफ्नै गाउँठाउँमा पनि कर्म गर्न सकिन्छ भनेर देखाउन उनले आफ्नो कृषि व्यवसायको आकारलाई बढाउँदै लैजाने सोंच बनाएको बताए ।

हाल पालन गरेका भैंसीहरुको संख्या बढाएर १० बनाउने योजना उनले बनाएका छन् । उनले अबदेखि तरकारी लगाउँदा एउटै जातको तरकारी धेरै मात्रामा लगाउने पनि बताए । ‘अहिलेसम्म गरेको तरकारी खेती राम्रै छ,’ चलाउने भन्छन्, ‘थोरै थोरै तरकारी लगाउँदा समस्या भयो, अबदेखि जुन तरकारी लगाए पनि एउटै जातको तरकारी धेरै मात्रमा लगाउँछु ।’

उनले हाल तरकारी उत्पादन क्षेत्रफललाई बढाएर धेरै क्षेत्रफलमा तरकारी खेती गर्ने तयारी गरेको पनि बताए । कृषि कार्यलाई अझ राम्रो र राम्रो प्रतिफल पाउनका लागि उहाँले आधुनिक कृषि औजार पनि किन्न लागेको बताए । ‘तरकारी खेतीको क्षेत्रफल बढाएपछि काम गर्न गाह्रो हुन्छ, त्यसका लागि आवश्यक कृषि औजार, ट्रयाक्टरसहितका यन्त्र किन्न लागेको छु,’ चलाउने भन्छन् ।

अहिले मासिक ५० हजार आम्दानीलाई बढाएर दुई लाख रुपैयाँसम्म कमाउने योजना रहेको उनको भनाई छ । कृषिमा अहिलेसम्म राम्रै उपलब्धी देखिएकाले उनी सफल कृषक बन्न अग्रसर देखिएका छन् । वडा कार्यालयले सञ्चालन गर्ने कृषि सम्बन्धी कार्यक्रममा नछुट्ने किसान मध्येमा उनी पर्छन् । वडा तथा गाउँपालिकाले पनि कृषकहरुलाई लागि आधुनिक कृषि उत्पादनलाई जोड दिएको छ ।

यसका साथै गाउँपालिकाले पनि यस वडाको कृषि क्षेत्रलाई प्राथमिकतामा पारेको छ । यो वडा कृषि उत्पादनका लागि उर्वर रहेकाले स्मार्ट कृषि गाउँ बनाउनका लागि गाउँपालिका तहबाटै योजना बनाएर अघि बढ्नुपर्ने डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीको भनाई छ । उनले भने, ‘वडा एक्लैले मात्रै यो सम्भव छैन, पालिका तहबाटै स्मार्ट कृषि गाउँ बनाउन योजना बनाएर लाग्नुपर्छ ।’

गाउँपालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले यस वडालाई धेरै कुरामा सहयोग भइरहेको र कृषि पकेट क्षेत्रका रुपमा यस वडालाई विकास हुन सकिने बताए । पालिकाले यस वडामा कृषि कार्यका लागि च्याउ तथा तरकारी खेती, वैदेशिक रोजगारबाट फर्केका युवालाई तालिम, कृत्रिम गर्भाधान, पशुहरुको निःशुल्क स्वास्थ्य उपचारजस्ता कार्यहरु सञ्चालन गर्दै आएको शर्माले जानकारी दिए ।

कृषि शाखा प्रमुख शर्माले भने, ‘वडा नं. ५ मा वन क्षेत्र धेरै भएकाले बाख्रापालनलाई सजिलै सफल बनाउन सकिन्छ । बाख्रापालनसँगै बेमौसमी तरकारी खेती र कन्नी च्याउ उत्पादनमा नमूना पनि बनाउन सकिन्छ ।’ यहाँ उत्पादन भइरहेका बेमौसमी तरकारी खेती र च्याउ उत्पादन नेपालको भाटभटेनी सुपरमार्केट र अन्य बजारमा बिक्री हुने गरेको उनको भनाई छ ।

त्यस्तै यसै वडाको नदि तटिय क्षेत्र भैंसीपालनका लागि सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ । कतिपयले व्यक्तिगतरुपमा भैंसीपालन गरेर राम्रो उपलब्धी लिइरहेको कृषि शाखा प्रमुख शर्माले बताए । उनका अनुसार यस वडामा पशुपालनबाट धेरै किसान आत्मनिर्भर बन्न सक्ने देखिन्छ । स्थानीय सरकारले पनि किसानका लागि थप योजना बनाएर अघि बढ्नुपर्ने स्थानीयहरु भनाई छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १५:०२