सूचनाको शक्ति - The Power Of Information

        

बक्सिङ खेलाडी छिरिङ एएसबीसी च्याम्पियनसिपकाे सेमिफाइनलमा

काठमाडौं । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (यूएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबीसीकाे सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यूएईमा भइरहेको (एएसबीसी) एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले हिजाे भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् ।

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वार्टर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका यूएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिएका हुन् । उनले आज सेमिफाइनल खेल्नेछन् ।

यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का  गरेकी छिन । उनी सम्मलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी छन् ।

प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् ।

गएकाे महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राईले गरेका छन् । प्रतियोगिता आउँदाे असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ११:४७