सूचनाको शक्ति - The Power Of Information

        

कुलमानद्वारा कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भए ?

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गर्नुभएको घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गर्नुभएको हो ।

घिसिङले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको निर्देशकमा राजन ढकाललाई जिम्मेवारी दिनुभएको छ । प्रशारण लाइन आयोजना निर्माणमा अब्बल मानिएका र अहिले बृहत् प्रसारण लाइन आयोजना हेर्ने जिम्मेवारीमा रहनुभएका ढकाललाई त्यहाँ लगिएको हो ।

त्यहाँका टेकनाथ तिवारीलाई बृहत प्रसारण लाइन आयोजना ४ सय केभीको प्रमुखमा ल्याइएको छ । प्रदेश २ प्रादेशिक कार्यालय जनकपुरको प्रमुखमा मुनिन्द्र ठाकुरलाई लगिएको छ ।

लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको प्रमुख रहनुभएका ठाकुरलाई सबैभन्दा बढी विद्युत चुहावट भएको प्रदेश नं २ मा लगिएको हो ।

जनकपुर कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीलाई प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ । चौधरी प्राधिकरणभित्र विद्युतगृहहरु सञ्चालनमा अब्बल मानिनुहुन्छ ।

एसियाली विकास बैंकबाट लगानी भएका आयोजना कार्यान्वयन गर्ने आयोजना व्यवस्थापन निर्देशनालयमा रहनभुएका नवराज ओझालाई लुम्बिनी प्रादेशिक कार्यालय, बटुवलमा लगिएको छ ।

आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा गरिएको छ । त्यहाँ रहनुभएका श्रीराम पोखरेललाई ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

विद्युत चुहावट नियन्त्रण महाशाखका जंगबहादुर चन्दलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको प्रमुखमा लगिएको छ । त्यहाँका जगदिशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखमा ल्याइएको छ ।

घिसिङले अब सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १९:२८