सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकको अध्ययन प्रतिवेदन

१०० मध्ये ६७ जना नेपालीको बैंक खाता, महिलाको बैंक खाता बढी सक्रिय

काठमाडौं । नेपालमा १०० जना नागरिकमध्ये ६७.३ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको नेपालमा वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ६७.३ प्रतिशत नेपालीको कम्पनीमा एक बैंक निक्षेप खाता रहेको जनाएको हो ।

निक्षेप खाता लगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा रहेको निक्षेप खातालाई अध्ययनमा समेटेको जनाएको छ । प्रतिवेदनले वित्तीय पहुँचमा विस्तार हुँदै गएपछि बैंकहरूको प्रतिशाखाबाट सेवा लिने नागरिकको संख्या भने घट्दै गएको देखाएको छ ।

‘वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्ने लगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्याउने नागरिकको संख्या क्रमशः घट्दै गएको छ,’ राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा भनिएको छ । २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

राष्ट्र बैंकले अध्ययनका लागि विवरण लिएको मिति २०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका थिए । ‘सोही निक्षेप खाताको तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिन्छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ ।

महिलाभन्दा पुरुषको खाता बढी, सक्रिय खाता महिलाको बढी

कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत रहेकोे छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेको राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेको छ ।

‘पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको छ भने प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेका छन् ।’

यस्तै, महानगरमा प्रतिहजार व्यक्ति ३,२९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेका छन् । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खातामा बचत खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ राष्ट्र बैंकले जनाएको छ । यस्तै, व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (१५ वर्षभन्दा माथि)को रहेको छ ।

झण्डै १९ प्रतिशत बैंक शाखाले एकलाखलाई सेवा दिन्छन्

अहिले रहेका ५ हजार ९७८ वटा बैंक शाखामध्ये झण्डै १९ प्रतिशत शाखाहरूबाट प्रतिशाखा एक लाखभन्दा बढी नागरिकले बैंकिङ सेवा लिइरहेको राष्ट्र बैंकले जनाएको छ । ‘प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या औसतमा ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ । बैंकिङमा प्रविधिको प्रयोग बढ्दै बैंकिङ क्षेत्रमा विद्युतीय कारोबार गर्ने नागरिक उल्लेख्य रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् ।

प्रतिखाता एटीएम, मोबाइल बैंकिब र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ । यस्तै, प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिब प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत रइन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने राष्ट्र बैंकको विश्लेषण छ । लघुवित्त र सहकारी संस्थाले प्रदान गरेको सेवा अध्ययन प्रतिवेदनमा समावेश नभएको हुँदा वित्तीय पहुँच अझै बढी रहेको छ । हाल लघुवित्तका ४५ लाख भन्दा बढी सदस्य छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १७:०२