कर्मचारी प्रशासनलाई हिजोआज जनशक्ति व्यवस्थापनका रूपमा लिइन्छ । कर्मचारी प्रशासनलाई केवल कामसँग सीमित रहेको व्यवस्थाका रूपमा र मानव साधन व्यवस्थापनलाई संगठनको उद्देश्य प्राप्तिको सर्वोपरि आधारका रूपमा र मानवीय मूल्य र मान्यताको आधारमा कर्मचारीको आर्थिक, सामाजिक, बौद्धिक र प्रशासकीय व्यक्तित्वको विकास गर्ने र संगठनप्रति पूर्णतः समर्पित गराउने माध्यम र प्रक्रियाको रूपमा लिइन्छ ।
उच्च मनोबल कायम गर्नु, नैतिकताको विकास गर्नु, कार्यप्रति अभिप्रेरित गर्नु, सुधारका सकारात्मक उपाय अपनाउनु आदि कर्मचारी प्रशासनको व्यवस्थापनमा विशेष महत्व दिइन्छ । सरकारी क्षेत्रमा होस् वा निजी क्षेत्रमा आधुनिक कर्मचारी प्रशासनले मानव साधन व्यवस्थापनको आदर्शलाई अपनाउन थालेको पाइन्छ । कर्मचारी प्रशासनलाई कसैले संगठनमा आवश्यक पर्ने कर्मचारीको छनौट, पदस्थापन विकास तथा उपयोग भनेका छन् ।
कर्मचारी प्रशासनको उत्कृष्ट परिभाषा गर्ने इ.बी.फ्प्पिो–१९९१ का अनुसार वैयत्तिक, सांगठनिक र सामाजिक उद्देश्य हासिल गर्न जनशक्ति प्राप्ति, विकास, पारिश्रमिक निर्धारण, कर्मचारीको चाहना र संगठनको उद्देश्यको बिच सामञ्जस्यता, सुधार तथा अवकाशका क्रममा योजना, संगठन, निर्देशन र नियन्त्रण गर्नुलाई कर्मचारी व्यवस्थापन भनिन्छ भनी उल्लेख गरेको पाइन्छ ।
समग्रमा सार्वजनिक कर्मचारी प्रशासन भन्नाले संगठनमा आवश्यक जनशक्तिको प्राप्ति, उपयोग, उत्प्रेरणा, निरन्तरता, विकास, निवृत्ति व्यवस्थापन समेतका समग्र क्रियाकलापको संयोजन भन्ने बुझिन्छ । संगठनले निर्धारण गरेका उद्देश्य हासिल गर्न जनशक्तिको अधिकतम उपयोग गर्नु कर्मचारी प्रशासनको मुख्य उद्देश्य हो । प्रशासनिक मूल्य र मान्यतामा आधारित कर्मचारीतन्त्रको विकासका लागि कर्मचारीहरूको छनौट र प्रभावकारी परिचालन गर्नु नै कर्मचारी प्रशासनको उद्देश्य हो ।
बढी भन्दाबढी व्यक्तिलाई सेवाप्रति आकर्षित गर्नु र योग्य व्यक्तिको छनौट गर्नु, कर्मचारीलाई संगठनप्रति समर्पित गराउनु, कर्मचारीहरूलाई अनुशासित, आचरणवान र कामप्रति लगनशील, बफादारी बनाउन प्रयास गर्नु, कर्मचारीहरूको गुनासा सुन्ने र तिनको समाधान गर्ने व्यवस्था मिलाउनु, उच्च तहदेखि निम्न तहका कर्मचारीहरूलाई समान व्यवहार गर्नु, कर्मचारीको उत्प्रेरणा र मनोवल वृद्धि गर्नु नै हो । कर्मचारी प्रशासन शाखाले कर्मचारीहरुको बार्षिक कार्य सम्पादन मूल्यांकन फाराम अद्यावधीक गर्नेतर्फ आवश्यक प्रक्रिया मिलाउँदै आएको छ ।
त्यस्तै शाखाले कर्मचारीहरुको व्यक्तित्व विकासका लागि तालिम, अध्ययन एवम् अवलोकन भ्रमण नियमित रूपमा गराउनुका साथै कार्यालयमा हाजिर गरे नगरेको रेकर्ड राख्ने, कर्मचारीहरुको विदा सम्बन्धी अभिलेख राख्ने कर्मचारीहरुको दरबन्दी मिलानसम्बन्धी कार्य गर्ने, कार्यालयका प्रत्येक शाखा तथा वडा कार्यालयहरुमा मुस्कानसहितको सेवा प्रवाहका लागि कार्यान्वयन गराउने, कार्यालयमा रहेका सबै शाखालाई मन्त्रालय, विभाग र जिल्लास्थित कार्यालयहरुबाट आएका पत्रहरुको जवाफ तोकिएको समयमै पत्राचार गर्ने र गर्न लगाउने जस्ता महत्वपूर्ण कार्यहरु रहेका छन् ।
।