सूचनाको शक्ति - The Power Of Information

        

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन कागजमै सीमित

सल्यान । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनाभन्दा बढी भइसक्दा समेत सल्यानमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन सकेको छैन । इन्टरनेटको सुविधा नहुँदा ग्रामीण भेकका विद्यालयमा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन नसकेको हो ।

सदरमुकाम रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि सदरमुकामकै अधिकांश विद्यालय बन्द छन् । शितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालय र लुहापिङमा रहेको त्रिभुवनजन माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

तर सबै विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन नसकेको शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । कतिपय ठाउँमा नेटको पहुँच भएपनि अनियमित विद्युतका कारण सस्या हुने गरेको उनको भनाइ छ ।

उनले भने ‘अभिभावकहरुले टिचिङ सामग्री किनिदिने सम्भावना निकै कम छ । एउटै घरका दुई तीनजना विद्यार्थी हुन्छन् । अभिभावकले एकैपटक दुई तीनवटा मोबाइल, कम्प्युटर, ल्यापटप किन्न सक्ने अवस्था छैन ।’ लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका ५०० विद्यालयका झन्डै ६० हजार विद्यार्थी पढाइबाट बञ्चित भएका छन् ।

विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने, टेलिभिजनमा पहुँच हुनेलाई टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम र इन्टनेटको माध्यमबाट कक्षा सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन नहुँदा कागजमै सीमित भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०९:४०